सल्यान –राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आयोजना भएको कर्णाली प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि रुकुम पश्चिमले जितेको छ। आइतबार सल्यानको खलंगामा सम्पन्न कर्णाली प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा सुर्खेतलाई ३–० को अन्तरले पराजित गर्दै रुकुम पश्चिमले उपाधि हात पारेको हो । उक्त पुरुष भलिबल खेलमा सुर्खेत दोस्रो भएको खेलमा डोल्पालाई हराउँदै आयोजक सल्यान तेस्रो भएको छ । योसँगै रुकुमले लगातार तीन संस्करणका उपाधि जित्दै ह्याट्रिक समेत गरेको छ । रुकुम पश्चिमले छैटौं, सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटमा लगातार उपाधि जित्दै रुकुम पश्चिमले उपाधिमा लगातार तेस्रो पटक कब्जा जमाएको हाे । प्रतियोगितामा १० जिल्लाको सहभागिता रहेको आयोजकले बताएको हो।
२०६८ देखि उपाधिमा लगातार कब्जा जमाउँदै आएको रुकुम पश्चिमले सेमिफाइनलमा डोल्पालाई, क्वाटर फाइनलमा कालिकोटलाई र समूह चरणमा मुगुलाई पराजित गरेको थियो भने समूह चरणमा सल्यानसँग पराजित भएको थियो । यस्तै सल्यानमै भएको पुरुष र महिला टेबलटेनिस दुवैको उपाधि सल्यानले जितेको छ ।