काठमाडौं — सरकारले चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलमार्फत उखु किसानले पाउनुपर्ने करिब १३ अर्ब ७६ करोड रुपैयाँमध्ये ९२ प्रतिशत रकम भुक्तानी भइसकेको जनाएको छ। सरकारले यस वर्ष विगतझैँ ६–८ महिना कुर्नुपर्ने अवस्था अन्त्य गर्दै आर्थिक वर्षभित्रै भुक्तानी सुनिश्चित गरिएको दाबी गरेको छ। सरकारका १०० दिनका उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतिक्विन्टल ७० रुपैयाँका दरले दिइने करिब १ अर्ब ५२ करोड रुपैयाँ अनुदान असार २५ भित्र किसानको खातामा जम्मा हुने जानकारी दिए। साथै कृषि बजार सूचना प्रणाली, चिस्यान केन्द्र, माटो परीक्षण, कृषि कर्जाको जोखिम भार घटाउने तथा किसानलाई विद्युतीय प्रणालीमा आबद्ध गराउने काम पनि अघि बढाइएको सरकारले जनाएको छ।
Advertisement