प्युठान। प्युठानको सरुमारानी गाउँपालिका–३, हंसपुरमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ ।
सो योजनाबाट साविक हंसपुर गाविसका वडा नंवर १,२,३ र ४ को डाडाटोल, गाहाचौपारी, गोठेरि सजिकोटका ३ सय २५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । गाउँपालिकाको रु ४ करोड ४३ लाख ३८ हजार ६०२ को लागतमा सो आयोजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष झगवहादुर विश्वकर्माले जानकारी दिए ।
उनले भने,“ पालिकाका सबै घरमा पानीको धारा पुर्याउने लक्ष्य छ”।
उनका अनुसार तीन किलोमिटर तलको माडीखोलाबाट लिफ्टिङ गरेर ६ सय मिटरमाथि डाँडामा पानी ल्याईएको छ। यहाँ पानी जम्मा गर्न सातवटा ट्याङकी बनेका छन । त्यहीँबाट पाइपलाइन बिछ्याएर गाउँमा खानेपानी पु-याइएको छ। आर्थिक वर्ष २०७४/०७५ बाट योजना सुरु गरिएपनी कोरोना लगायतका कारण काममा ढिलाई भएको थियो। यसपाली घरघरै पानी आएको खुसीयालीमा बाजागाजासहित स्थानीयले उत्सव नै मनाए।
खानेपानी आयोजनाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्व मन्त्री तुलसीराम शर्माले आयोजनाको संरक्षण र रेखदेखमा ध्यान दिन आग्रह गरे।
वर्षौंदेखि खानेपानीको अभावमा झेल्दै आएका सो क्षेत्रका बासिन्दा घरघरमा पानीको धारा पुगेपछि खुसी भएको वडाअध्यक्ष भिमबहादुर मर्साङ्गिले बताए।
गाउँपालिका अध्यक्ष विश्वकर्माले अहिलेसम्म पालिकाभरिका दुई हजार ६ सय ६६ घरमा पानीको धारा पुगेको र तीनवटा ठूला आयोजना निर्माणाधीन अबस्थामा रहेको सुनाए। स्थानियको धेरै मेहेनत र लगानिमा योजना निर्माण भएको उल्लेख गर्दै अध्यक्ष विश्वकर्माले दीर्घकालीन रूपमा खानेपानीलाई टिकाउन सबैको सहयोग जरुरी रहेको बताए ।