अनिल खत्री, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा (नेकपा) एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिका अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका कुँवरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको (नेकपा) एमाले धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले बताए ।
धुर्कोट गाउँपालिकामा (नेकपा) एमालेबाट गाउँपालिका अध्यक्षमा गोपाल कुँवर र उपाध्यक्षमा सीता गिरीले उम्मेदवारी मनोनयन गराएका थिए । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष पदका लागि भुपाल पोखरेलले मनोनयन दर्ता भएको छ ।
एमालेबाट उम्मेदवार बनेका कुँवरले नेकमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने सहमतीमा उम्मेदवारी फिर्ता लिइएको सचिव घिमिरेले बताए । अब धुर्कोट गाउँपालिकामा (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार पोखरेल र नेकपा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार गिरी बन्ने घिमिरेले बताए ।
दुई उम्मेदवार बिचको सहमती अनुसार अध्यक्ष पदमा आ–आफना पार्टीका चुनाव चिन्हमा लडनेछन् । (नेकपा) एमाले धुर्कोट गाउँपालिकाले गरेको सहमति अनुसार सबै वडाहरुका पदमा भने सूर्य चिन्हका उम्मेदवारहरु रहने घिमिरेको भनाई छ ।
पोखरेल ०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेकपा माओवादी बिच तालमेल गरेर अध्यक्ष पदमा निर्वाचित भएका थिए । धुर्कोट गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् ।
गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट महेन्द्र भण्डारी र एकीकृत समाजवादीबाट कमला सुनारले तालमेलबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धुर्कोट गाउँपालिकामा कांग्रेस र एकीकृत समाजवादी बिच तालमेल भएको छ ।
यो गाउँपालिकामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच चुनावी तालमेल भएको थियो । तालमेल अनुसार अध्यक्ष पदमा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका शिब खत्री निर्वाचित भएका थिए ।