कामनाडेली, प्युठान । प्युठान प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका एकजनालाई २१ वर्षपछि पक्राउ गरेको छ । एक वर्ष ११ महिना ७ दिन कैद सजाय भई फरार रहेका माण्डवी गाउँपालिका वडा नं. ५ बस्ने कृष्ण बहादुर घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो ।
कृष्णलाई जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको विशेष टोलीले माण्डवी गाउँपालिका– ३ चकचकेबाट आईतबार पक्राउ गरेको हो ।
कृष्ण उपर २०५७ साल चैत्र ११ गते उक्त कैद सजाय हुने गरी प्युठान जिल्ला अदालतबाट मुद्दा फैसला भएकोमा उनी फरार रहेका थिए । पक्राउ परेका कृष्णलाई सोमबार जिल्ला अदालत प्युठानमा पेस गरी कैद भुक्तान गर्नका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रबक्ता,प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
यसैवीच नौवहिनी गाउँपालिका वडा नं. ६ का परिवर्तित नाम (द्य) जबरजस्ती करणी मुद्दामा प्यूठान जिल्ला अदालतको मिति २०७० बैशाख २९ गतेको फैसला अनुसार ६ महिना कैद सजाय तोकिएको र हालसम्म फरार रहेकोमा प्रहरीले आज नियन्त्रणमा लिई अदालत पेश गरी कैद भुक्तानको लागी जिल्ला कारागार प्यूठानमा चलान गरेको छ ।