काठमाडौं । भक्तपुरका ३३ वर्षीय युवकको मृत्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो । कोरोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए ।
‘यति कम उमेरका युवकले समेत कोरोनाकै कारण ज्यान गुमाउनुपरेपछि हामी साह्रै चिन्तित छौं,’ अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भने । यही अस्पतालको भेन्टिलेटरमा उपचाररत सुन्दरीजलका ४३ वर्षीय पुरुषको पनि आइतबार नै मृत्यु भयो ।
अपराह्न साढे ३ बजेतिर उनको मृत्युको खबर थाहा पाएपछि अस्पताल परिसरमा आफन्तको रुवाबासी चलेको थियो । त्यही बेला भेन्टिलेटरमा राख्नुपर्ने बूढानीलकण्ठका ५४ वर्षीय पुरुषका आफन्त भने भगवान् पुकारिरहेका थिए । टेकु अस्पतालमा भेन्टिलेटर नपाएपछि उनीहरू बिरामीलाई निजी अस्पतालमा लैजाने तयारीमा लागे । उनीहरूले एम्बुलेन्स खोजे । बल्ल अपराह्न ५ बजे नेपाल एम्बुलेन्स सेवाको एम्बुलेन्स अस्पताल आइपुग्यो । उनी केही दिनसम्म घरायसी उपचार गर्दै होम आइसोलेसनमा बसेका थिए ।
सास फेर्न गाह्रो भएपछि आफन्तले आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्याएका थिए । अस्पतालमा प्राथमिक उपचार त भयो तर उनलाई अक्सिजनको मात्रा बढाएर तत्काल भेन्टिलेटरमा राख्नुपर्ने भयो । अस्पतालमा भेन्टिलेटर खाली थिएन ।
एम्बुलेन्स आएपछि अक्सिजन सिलिन्डर जोडेर बिरामीलाई ह्वीलचियरमा गुडाउँदै बाहिर निकालियो । अक्सिजन जोड्दा पनि बिरामीलाई असहज देखिन्थ्यो । उनी बारम्बार खोकिरहेका थिए । अस्पतालमा बेड नपाएपछि घरबाट लगिएको बिरामीलाई एम्बुलेन्समै राखेर सेवा दिएको नेपाल एम्बुलेन्स सेवाका प्रमुख रञ्जित आचार्यले बताए । ट्वीटरमा उनले लेखेका छन्, ‘अस्पतालमा बेड नपाएर बिरामीलाई अक्सिजन सपोर्टका लागि एम्बुलेन्समै राख्नुपरेको छ । यो क्रम बढ्दै जानेछ । अहिले नै आइसोलेसन बेड अक्सिजनको जोहो गरौं नत्र रोगले होइन, उपचार नपाएर ज्यान जानेछ ।’
सीसीएमसीको आइतबारको बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले यस्तै दृश्य सुनाएका थिए । ‘अस्पतालका सबै बेड भरिइसके । सचिव, मुख्य सचिव, मन्त्री जसलाई कोरोना लागे पनि बेड पाउने अवस्था छैन । यो अवस्था टुटाउन केही न केही निर्णय गर्नैपर्छ,’ उनको भनाइ उद्धृत गर्दै बैठकका एक सहभागीले भने । बेड सबै भरिएपछि टेकु अस्पतालमा आउन सक्ने बिरामीको उपचारको व्यवस्था गर्न आकस्मिक कक्षबाहिर अक्सिजनको पाइप जडान गर्न लागेको निर्देशक डा. सागरराज भण्डारीले बताए । ‘अब बेड खाली छैन । सास फेर्न गाह्रो भएर आएका बिरामीलाई बाहिरै राखेर भए पनि अक्सिजन दिने व्यवस्थापनमा जुटेका छौं,’ उनले भने ।
मन्त्रालयका अनुसार यो अस्पतालको आइसोलेसन वार्डमा ४७ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १० जना उपचाररत छन् । बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा पनि दिनमा १० जनाभन्दा बढी भर्ना गर्नै नसक्ने अवस्था रहेको कोरोना संक्रमितको व्यवस्थापनमा नेतृत्व गरेका डा. प्रवीन नेपालले बताए । यो अस्पतालमा सबैभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । यहाँ आइसोलेसनमा १ सय ६ जना, आईसीयूमा १० जना, भेन्टिलेटरमा ८ जना उपचाररत छन् । काठमाडौं उपत्यकाका १२ वटा अस्पतालको आइसोलेसनमा ५ सय ५४ जना, आईसीयूमा ८२ र भेन्टिलेटरमा ४० जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । ५ सयभन्दा बढी संक्रमित हुने जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरसहित १० वटा पुगेका छन् । मकर श्रेष्ठले कान्तिपुर दैनिकमा खबर लेखेका छन् ।