काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुख सापकोटाले संवैधानिक दायित्व भुलेको आरोप लगाएका छन्। उनले आफ्नो संवैधानिक दायित्व बिर्सिँदै मंसिर २८ र ३० को बैठक बहिष्कार गरेको दाबी गरेका छन्।
‘सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरीत मंसिर २८ र ३० गते वहिष्कार गर्नुभयो’, उनले भनेका छन्, ‘जबकि सभामुख त पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष रूपमा कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेको छ।’
प्रधानमन्त्रीले दुई पटकसम्म बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्निप्रसाद सापकोटाले बहिष्कार गरेका छन्।
संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले डाकेको बैठक सभामुख सापकोटाले बहिष्कार गरेपछि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेको छ।बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्बाट सिफारिस अध्यादेशलाई जारी गरिसकेकी छन्।