सुर्खेत । कर्णालीलाई फागुनभित्र पूर्ण साक्षर प्रदेश घोषणा गर्ने योजना छ। तर, कोरोना महामारीका कारण प्रदेश सरकारको उक्त लक्ष्य भेट्न मुस्किल देखिएको छ।
‘कोरोनाका कारण साक्षरता अभियान रोकिएको छ’, शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निर्देशक दीपा हमालले भनिन्, ‘तोकिएकै समय फागुनभित्र साक्षर घोषणा गर्न मुस्किल छ।’
कर्णालीमा कुल जनसंख्या १७ लाख ६९ हजार ७ सय ८० जना रहेको प्रदेश योजना आयोगको अनुमान छ। कुल जनसंख्यामध्ये ७३ प्रतिशत नागरिकलाई साक्षर मान्दा ४ लाख ७७ हजार ८ सय ४१ जना निरक्षर रहेको हुन सक्ने आयोगका सदस्य योगेन्द्र शाहीको भनाइ छ। शाहीका अनुसार प्रदेशको पूर्ण तथ्यांक नहुँदा निरक्षर नागरिकको यकिन तथ्यांक छैन।
२०६७ सालको घरधुरी सर्वेक्षणले ३ लाख ६४ हजार ४ सय ५० जना नागरिक निरक्षर रहेको देखाएको छ।
कर्णालीका १० जिल्लामध्ये जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रूकुम पश्चिम साक्षर घोषणा भइसकेका छन्। कालिकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा साक्षर घोषणा हुन बाँकी छन्।
साक्षर घोषणा गरिएका जिल्लामै २ लाखभन्दा बढी नागरिक निरक्षर पाइएको छ। जाजरकोटमा ४३ हजार ६ सय ३७, दैलेखमा ६४ हजार ६ सय ७६, सुर्खेतमा ५४ हजार ४ सय १०, सल्यानमा ५३ हजार ५ सय र रुकुमपश्चिममा २७ हजार २३ जना निरक्षर छन्।
हुम्लामा १७ हजार ८ सय १७, मुगुमा १९ हजार ६ सय ५७, डोल्पामा ११ हजार ३ सय ७२, कालिकोटमा २६ हजार ५ सय ४३ र जुम्लामा ३१ हजार ८ सय १३ जना निरक्षर छन्। ललितबहादुर बुढाले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।