दाङ । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका एक युवकको शुक्रबार दोहोरो गोली हानाहानमा मृत्यु भएको छ । जम्मु–कश्मीरमा भएको गोली हानाहानमा प्रेमबहादुर खत्रीको मृत्यु भएको छ ।
रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर भारतीय सेनाका नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको हो ।
पाकिस्तानी क्षेत्रबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
भारतको सीमा सुरक्षामा खटिंदा मारिएका ३० वर्षीय खत्री तुलसीपुर–९ बेलुवाका हुन् । कश्मीरबाट आज बिहान लखनउ आइपुग्ने छोराको शव लिन पिता लालबहादुर शुक्रबारै त्यसर्फ गएको बेलुवा प्रहरी चौकीका इन्चार्ज असई प्रदीप खड्काले बताए । खत्रीका आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् ।
गत चैतअघि दुई महिने बिदामा आएर घर बसेर गएका उनी नियमित फोन सम्पर्कमा रहेको र बिहीबार राति मात्रै भिडियो कलमा कुराकानी भएको छिमेकी तुलसी केसीले बताए ।