माधव बेल्बासे,कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा हुन लागेको प्रथम नगरस्तरिय माघी(खिचडी) महोत्सवको तयारी पूरा भएको छ । थारु समुदायमा लोप हुँदै गएको कला संस्कृतिको संरक्षण प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
“थारु संस्कृतिके संरक्षण, सम्बर्द्धन अउर प्रबर्द्धन कयना हम्मन अभियान, न्याय समान्ता अउर पहिचान सहितके स्वयत्त थरुहट प्रदेशके निर्माण“ भन्ने मुल नाराका साथ यहि माघ २ गतेदेखि ४ गते सम्म सञ्चालन हुन लागेको महोत्सवको तयारी पूरा भएको मगलवार पत्रकार सम्मेलन आयोजना गरिएको आयोजकले दाबी गरेको छ ।
थारु समुदायमा नाचिने झुम्रा, झररा, सखिया, मयुर लगायतको नृत्य, थारु भेषभुषाको प्रदर्शन, थारु खानाको परिकार, थारु पुर्खाैली सामाग्रीको प्रदर्शन लगायतको महोत्सवका मुख्य आकर्षणको केन्द्र बिन्दु रहेको महोत्सव संयोजक इन्द्र बहादुर थारुले जानकारी दिनुभयो ।
त्यसैगरी महोत्सवमा दर्शकहरूलाई मनोरञ्जन दिनको लागि कलाकारहरू अञ्जु कुस्मी, राज कुस्मी, समीक्षा चौधरी, गणेश चौधरी, श्रीनिवास चौधरी, हरिनारायण चौधरी, खेम चौधरी, सरगम चौधरी, उत्तम चौधरी, सिमान्त चौधरी, सोनु कुस्मी, रीतु चौधरी रहेका छन् ।
यसैगरी रन्जित थारु, सुनिता दहित, विशाल चौधरी, विष्णु थारु, सत्यनारायण फटेरा, श्याम सिटी, शारदा थारु, जया चौधरी र प्रमिला चौधरी लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुुति समेत रहने साँस्कृतिक संयोजक उत्तम सिटीले जानकारी दिनुभयो ।