कपिलवसतु- कपिलवस्तुमा पहिलो पटक विवाह पञ्चमी महोत्व धुमधामका साथ मनाइएको छ। जिल्लामा राष्ट्रिय हिन्दु परिषद्को आयोजनामा पञ्चमीमा राम र सीता बिच विवाह उत्सव मनाइएको हो। सदरमुकाम तौलिहवास्थित बालमन्दिरबाट गाजाबाजाका साथ राजा दशरथ, राम, लक्ष्मण र हनुमानलाई रथारोहण गरि तौलिहवा नगर परिक्रमा गरि पुनः बालमन्दिरमा प्रभु श्रीरामको विवाह उत्सव गरिएको थियो। त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र सीताबीच विवाह भएको दिनको सम्झनामा हरेक वर्ष जनकपुरको जानकी मन्दिरमा विवाह पञ्चमी पर्व मनाउने गरिएको छ।सोहि स्थानमा वैदिक परम्परा अनुसार राम र सिता विच वैवाहिक कार्यक्रम सम्पन्न गरिएको थियो। विवाह पुर्व त्रेता युगमा भएको घटननााक्रमलाई कलाकारहरुले देखाएका थिए। रामले शिव धनुष तोडेपछि सितासंग विवाह गराईएको थियो।रामका पिता राजा दशरथ र सिताका बुवा राजा जनकसंग मिलन कार्यक्रम समेत देखाईएको थियो। विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जिल्लाका विभिन्न भागका साथै भारतको विभिन्न स्थानबाट सयौं श्रद्धालु तौलिहवा आएका थिए। राष्ट्रिय हिन्दु परिषद् नेपाल र दुर्गा पुजा समिती कपिलवस्तुको संयुक्त आयोजनामा विवाह पञ्चमी महोत्सव संचालन गरिएको हो।अन्तराष्ट्रिय हिन्दु परिषद्का संयुक्त महासचिव सजनी ठुकरालले सनतान धर्मको प्रचारप्रसार र संरक्षणकालागि यो उत्सव फलदायी हुने बताइन्। उनले हिन्दु धर्मको रक्षाकालागि यस्ता कार्यक्रम निरन्तर गरिनु पर्ने बताइन्। जिल्लामा पहिलोपटक विवाह महोत्सव मनाइएकाले सदरमुकाममा दर्शनार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो। बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, सुरक्षाकर्मीहरु लगायतले समेत रथसहितको र्यालीमा सहभागिता जनाएका थिए।