सागर रिजाल,प्युठान ।२०२६ सालमा ऐरावती गाउँपालिका २ (साविक बरौला गाविस) हरियाटारीमा खुमबहादुरको जन्म भयो । उनी जन्मीएको केहि वर्षमै उनीहरुको जग्गा साहुले लग्यो ।त्यसपछि उनी सुकुम्वासी बने । घरजग्गा नभएपछि उनी मावली चेरनेटा नजिक किट गाउँमा बस्न थाले । मावली पछि उनी प्युठान नगरपालिकाको क्वाडीमा सानो टहरो बनाएर बसे । जग्गा जमिन केहि नभएका उनले सरुमारानी गाउँपालिकाको कुडुलेबाट विहे भयो । उनका तीन भाई छोरा र एक छोरी छन् । एक छोरा नेपालगञ्जमा बस्दै आएको र अरु छोरा छोरी आफुसंगै बस्दै आएको खुमबहादुरले बताए । छोराछोरीहरु नजिकैको कार्कीडाडाँ विद्यालयमा पढ्ने समेत खुमबहादुर बताउछन् ।
लेबर काम गरेर गुजारा चलाउदै
राउत दम्पतीले लेबर काम गरेर दैनिकी चलाएका छन् । खुमबहादुरले माछा मार्ने र उनकी श्रीमती तिला राउतले लेबर काम गरि परिवारको गुजारा चलाएका छन् । सरकारले बच्चाबच्चीलाई निशुल्क पढाईदिएपनि जग्गा जमिन संगै घर नहुँदा आफुहरुलाई समस्या भएको खुमबहादुर बताउछन् । नगरपालिका छेउमै भएपनि आफुहरुलाई केहि सहयोग नगरेको उनीहरुको गुनासो छ । नगरपालिकामा सहयोगका लागि गयौ, खुमबहादुरले भने,–‘तर अहिलेसम्म केहि पाएका छैनौ ।’खुमबहादुर दमको विरामी भएपछि पछिल्लो समय श्रीमतीले मात्रै आर्थिकको जोहो गरेकी छिन् । श्रीमती तिला भन्छिन्,–‘श्रीमानले पाल्ने बेला मैले आफै श्रीमान र केटाकेटी पाल्न परेको छ । ’ राउत परिवारले सहयोगको याचना समेत गरेका छन् ।