काठमाडाैं । उपचारका लागि लैजाँदै गरिएकी श्रीमतीको बाटैमा मृत्यु । श्रीमतीको शव बोकेर फर्कंदै गर्दा एम्बुलेन्स दुर्घटनामा परी श्रीमान्को पनि मृत्यु । सिरहाको कर्जानाहा–७ की ६० वर्षीया गंगियादेवी साह र उनका श्रीमान् ६८ वर्षीय शोभित साहले एकै दिन ज्यान गुमाएका हुन् ।सिरहाकै फूलकुमारी महतो मेमोरियल हस्पिटलमा स्वास्थ्य परीक्षण गर्ने क्रममा मुटुमा समस्या देखिएपछि श्रीमती गंगियादेवी र सालोका छोरा श्रीराम साहलाई लिएर सोमबार राति काठमाडौं आएका शोभितले श्रीमती त बचाउन सकेनन् नै, आफैं पनि घर फर्कन पाएनन् ।एम्बुलेन्समा काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्र बाँसबारी आउँदै गर्दा बाटोमै गंगियादेवीलाई व्यथाले च्याप्यो । अस्पतालसम्म पुग्नै नभ्याई उनले प्राण त्यागिन् । नाति नरेन्द्र साहका अनुसार मंगलबार बिहान २ बजे अस्पताल पुर्याउँदा गंगियादेवीलाई चिकित्सकले मृत घोषणा गरे । त्यतिन्जेलसम्म काठमाडौंको सिफलमा बस्ने कान्छा छोरा देवकुमार र बुहारी निलु पनि अस्पताल पुगिसकेका थिए । उनीहरू शव लिएर त्यही एम्बुलेन्समा घर फर्किने तयारीमा जुटे ।अस्पतालको प्रक्रिया पूरा गरी करिब पौने ३ बजे शोभित, श्रीराम, देवकुमार र निलु एम्बुलेन्समा सिरहाका लागि हिँडे । चाबहिलमा रोकिएर केहीबेर चिया खाए । करिब पौने ४ बजे त्यहाँबाट छुटेका उनीहरू काभ्रेभन्ज्याङस्थित प्रहरी चेकपोस्ट कटेपछि फेरि रोकिए । निलुले बान्ता गरिन् । चालकहरू रेडबुल खाने भन्दै पछाडिपट्टि लागे ।एम्बुलेन्समा दुई जना चालक थिए । धनुषाको मिथिला–७ का २६ वर्षीय देवराज श्रेष्ठले एम्बुलेन्स चलाएका थिए । त्यहाँबाट हिँडेको केहीबेरमै नमोबुद्ध–५ स्थित लासकोटमा स१च ११९१ नं. को उक्त एम्बुलेन्स दुर्घटनामा पर्यो । शोभित, देवकुमार, निलु, श्रीराम र दुवै चालक घाइते भए ।प्रहरी र स्थानीय बासिन्दाले तत्कालै उद्धार गरेर धुलिखेल अस्पताल पुर्याए । गंगियादेवीको शव पनि सँगै लगियो । घाइते सबैको अवस्था सामान्य थियो, सबैमा बाहिरी चोटपटक थियो ।शोभितका नाति (छोरीका छोरा) नरेन्द्रका अनुसार उपचारक्रममा मुटु र नसाको समस्या देखिएपछि चिकित्सकले शोभितलाई काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल रिफर गरे भने बाँकीको धुलिखेलमै उपचार गरिएको छ । न्युरो अस्पताल पुर्याइएका शोभितको मंगलबार दिउँसो मृत्यु भएको नरेन्द्रले जानकारी दिए ।निलुको मेरुदण्ड र हातमा समस्या छ । श्रीरामको खुट्टाको शल्यक्रिया गरिएको छ । सामान्य घाइते देवकुमार र दुई चालकलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।
एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु
एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु

Advertisement
तपाईको प्रतिक्रिया