स्याङ्जा (चापाकोट)। चापाकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष र सचिवको मिलेमतोमा एक ब्याक्तीको दोस्रो विवाह दर्ता गरिदिएको खुलासा भएको छ । विवाहित भएको थाहा हुदा हुदै पनि वडा अध्यक्ष शंकरभक्त भण्डारी र वडा सचिव दशरथ भट्टराईले मिलमतोमा विवाह दर्ता गरिदिएका हुन् ।
केशव पंगेनीले गएको वैशाखमा पुतली बजार नगरपालिका १३ बस्ने २५ वर्षिय प्रतिमा रेग्मी संग दोस्रो विवाह गरेका थिए । अध्यक्ष भण्डारी र सचिवलाई सबै कुरा थाहा हुदा हुदै पनि पैसाको चलखेलमा विवाह दर्ता गरिदिएको पंगेनीका जेठी श्रीमती खेमकुमारी पंगेनीले बताइन् ।
केशवराज संग प्रेम विवाह गर्नुभएकी खेमकुमारीका एक छोरा र दुई छोरी छन् । “जनप्रतिनिधि हुँ जनताको साझा हितमा रहेर काम गर्छौ भनेर हिडेका व्यक्तिबाट नै पैसाको चलखेलमा कानुन विपरित विवाह दर्ता गरिदिएका छन्” खेमकुमारीको गुनासो छ ।
केशव संग वैवाहिक जीवनमा बाँधिएकी खेमकुमारीले २०६३ साल फागुन २४ गते पति कायम गरिएको नागरिकता देखाउदै उनले अध्यक्ष भण्डारी र सचिव दशरथ भट्टराईलाई कारवाही गर्नुपर्ने माग सहित चापाकोट नगरपालिकाको न्यायिक समिति समक्ष निवेदन दर्ता गरेकी छिन् ।
चापाकोट नगरपालिका वडा नं ९ को कार्यालयको दर्ता रजिष्टरमा २०७५ माघ १३ गते १०००४५ नं मा दर्ता मिति रहेको र केशव पंगेनीले पुतलीवजार नगरपालिका वडा नं १३ बस्ने वर्ष २५ की प्रतिमा रेग्मी संग २०७५ बैशाख ४ गते विवाह भएको प्रमाण खुलासा भएको छ ।
वडा सचिव दशरथ भट्टराईले आफुले यस भन्दा अगाडी कुनै गल्ती नगरेको बताउँदै जनप्रतिनिधिको दवाबमा बाध्य भएर गलत कार्य गर्न पुगेको स्वीकार गरे । यस बारेमा सबै कुरा सहायक प्रमुख जिल्ला अधिकारी समक्ष जानकारी गराएको छु भन्दै सचिव भट्टराईले सबै कागजपत्र आफुले लगाएको कोटको गोजीबाट निकाली देखाउदै अहिले यस विषय मिडियामा नराख्न मिडियाकर्मी समक्ष अनुरोध समेत गरेका छन् ।
पहिले जनताले तिरेको कर र सिफारिस दस्तुर वापत लिइने राजस्व लिई अर्धकट्टी रसिद हरायो भनि वडा अध्यक्ष भण्डारी र सचिव भट्टराईले मोटो रकम झ्वाम पारेको एक स्रोतले बताएको छ ।
चापाकोट क्षेत्रमा पहिले पनि यस्ता कार्यहरु भइरहन्थे । कर्मचारीतन्त्र भएका बखत यस्ता घटना सधै गुपचापमै रहीरह्यो । स्थानीय तह जनप्रतिधिको नेतृत्वमा चलेकाले जनताले पछिल्लो समय आफु अन्यायमा परेको गुनासो लिएर जान थालेका छन् ।
जनताले निष्पक्ष रुपमा जनप्रतिनिधिले काम गरुन भन्ने चाहना राखेका छन् । तर जनताको मत जितेर नेतृत्व तहसम्म पुगेका जनप्रतिनिधिले नै यस्ता गलत नियत गर्न थालेपछि चापाकोट नगरपालिका वडा नं ९ मा गाउँ गाउँमा सिंहदरबार भन्दा पनि लुट र भ्रष्टतन्त्र मौलाउन थालेको स्थानीयवासीको आवाज अहिले सुनिन थालेको छ ।
कर्मचारी कमाऊ धन्दामा रहेर चापाकोटका स्थानीयवासीले पहिले देखि नै निकै सास्ती खेप्दै आएका थिए । जनप्रतिनिधि आएपछि यस गलत कार्य रोकिनेमा यहाँका स्थानीयवासी विश्वस्त बनेका थिए । पुनः यस्ता गलत नियत सुरु हुन थालेपछि जनप्रतिनिधि माथीको विश्वास घट्दै गएको छ ।