काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी अघि बढाएको बताएका छन् । अति उच्च जोखिममा रहेका हिमतालको पानी वैज्ञानिक विधिबाट निकास गरी सम्भावित विपद् न्यूनीकरण गर्ने विषयमा गृहकार्य भइरहेको उनले जानकारी दिए ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले जोखिममा रहेका हिमतालमा आवश्यकताअनुसार ब्लास्टिङ गरी पानीको सतह घटाउने विषयमा विज्ञहरूसँग छलफल भइरहेको बताए ।
‘जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ,’ उनले भने, ‘जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ । विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौं । तयारी सकिएपछि निर्णय लिन्छौं ।’
कुन–कुन हिमतालको जलस्तर घटाउने भन्ने विषयमा भने निर्णय भइनसकेको मन्त्री श्रेष्ठले बताए । विज्ञहरूसँगको परामर्श र अध्ययनपछि जोखिमको मात्रा हेरेर ताल छनोट गरिने उनको भनाइ छ।
‘विज्ञहरूसँग परामर्श लिँदैछौं । छलफलमा धेरै तालको नाम आएको छ । अध्ययन गरिरहेका छौं । जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौं,’ उनले भने ।
मन्त्री श्रेष्ठका अनुसार ग्रिन क्लाइमेट फन्ड (जीसीएफ) बाट प्राप्त सहयोग परिचालन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँगको समन्वयमा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने काम यही वर्ष अघि बढाइनेछ ।
इसिमोड र यूएनडीपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन् । तीमध्ये कोशी र गण्डकी क्षेत्रमा चार वटा हिमताल अति उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ ।
जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
Advertisement
तपाईको प्रतिक्रिया