स्याङ्जा — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउन आवश्यक परे आगामी अधिवेशनबाट आफू नेतृत्व छाड्न तयार रहेको बताउनुभएको छ।
कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा स्याङ्जामा आयोजित शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताउनुभयो।
पार्टीभित्रका कमजोरी र विकृति हटाएर कांग्रेसलाई पुनः जनताको भरोसायोग्य र लोकप्रिय पार्टी बनाउनुपर्ने उहाँको भनाइ छ।
पार्टीलाई बलियो बनाउन सबै एक ठाउँमा हुनुपर्ने चर्चा हुने गरे पनि व्यवहारमा त्यसो हुन नसकेको भन्दै थापाले कांग्रेसको वर्तमान अवस्था र भूमिकाबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो।
उहाँले मतदाता कुनै पनि दलको स्थायी नहुने भन्दै समर्थक र शुभेच्छुकलाई पार्टीसँग जोडिराख्न कांग्रेसले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो।
चुनाव जित्ने र हार्ने विषयलाई मात्रै केन्द्रमा राख्दा पार्टीका समर्थक तथा शुभेच्छुक टाढिँदै गएको उहाँको भनाइ छ।
शासकीय अहंकारका कारण पटक–पटक व्यवस्था हल्लिने गरेको उल्लेख गर्दै सभापति थापाले गत भदौ २३ गतेको जेनजी आन्दोलनलाई पनि त्यसैको एउटा प्रारूपका रूपमा व्याख्या गर्नुभयो।
उहाँले नयाँ पुस्तालाई प्राथमिकतामा राखेर कांग्रेसलाई अघि बढाउने बताउनुभयो। स्वर्गीय गोपालमान श्रेष्ठले जीवनको अन्तिम समयमा नयाँ पुस्तालाई प्राथमिकता दिन आग्रह गरेको स्मरण गर्दै थापाले आफू त्यही भावनाअनुसार अघि बढिरहेको बताउनुभयो।
‘आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु’ भन्ने उहाँको अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको बहसलाई थप चर्चामा ल्याएको छ।
शोकसभामा कांग्रेस महामन्त्री प्रदीप पौडेल, केन्द्रीय सदस्य सरस्वती अर्याल, प्रदेश उपसभापति कल्पना तिवारीलगायतले स्वर्गीय श्रेष्ठको राजनीतिक योगदानको चर्चा गर्नुभएको थियो।
श्रेष्ठको गत साउन १२ गते क्यान्सरको उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो। उहाँ २०१७ सालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो। २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट संसदीय निर्वाचनमा निर्वाचित श्रेष्ठले उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो।
आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
Advertisement
तपाईको प्रतिक्रिया