सिन्धुपाल्चोक — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भएको जेन–जी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सरकारले नै लुकाएको आरोप लगाएका छन्।
बाह्रबिसे नगरपालिका–८ मानेश्वारामा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र विध्वंसका घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरे।
जेन–जी पुस्ताले उठाएका माग र आन्दोलनलाई बदनाम गराउन आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै उनले त्यसबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए।
‘आन्दोलनका क्रममा भएको विध्वंसका पछाडि को–को थिए भन्ने कुरा सार्वजनिक हुनुपर्छ,’ प्रचण्डले भने, ‘छानबिनबाट प्राप्त तथ्य र प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।’
उनले सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले नै छानबिन प्रतिवेदन लुकाएर घटनाको वास्तविकता बाहिर आउन नदिएको आरोप लगाए। जेन–जी आन्दोलनमा सहभागी युवाको भावना र उद्देश्यलाई विध्वंसका घटनासँग जोडेर हेर्न नहुने उनको भनाइ थियो।
गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।
घटनाबारे सरकारले गठन गरेको जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।
श्रद्धाञ्जली सभामा नेकपा सहसंयोजक माधवकुमार नेपाल, केन्द्रीय कार्यसंयोजन समितिका सदस्य अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाललगायत नेताहरू सहभागी थिए।
जिल्ला सल्लाहकार दिवंगत गंगादेवी पौडेल तथा भदौ १० गते रसुवा नाकामा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा सभा आयोजना गरिएको हो। पौडेल बागमती प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलकी आमा हुन्।
जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
Advertisement
तपाईको प्रतिक्रिया