लालगढ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका कमजोरी सच्याउँदै जनताबीच पुनः स्थापित हुने बताएका छन्।
मंगलबार धनुषाको लालगढमा एमाले मधेश प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण कार्यक्रममा उनले पछिल्लो निर्वाचनको परिणामले पार्टीलाई गम्भीर समीक्षा र पुनर्संगठनको आवश्यकता देखाएको बताए।
पोखरेलले पार्टी सुदृढीकरणका लागि ‘छ ज’ अभियान अघि बढाइएको जानकारी दिए। उनका अनुसार अभियानमा जनतामा जाने, जनताका मुद्दा उठाउने, जनतासँग जोडिने, जनताको प्रिय बन्ने, जनसंगठनलाई व्यवस्थित रूपमा परिचालन गर्ने र जनताको बहुदलीय जनवादको परिणाममुखी अभ्यास गर्ने विषय समेटिएका छन्।
पार्टी नयाँ पुस्तासँग जोडिन नसक्नु, युवाका चासो सम्बोधन गर्न नसक्नु, सामाजिक सञ्जालमा फैलिएका भ्रमको खण्डन गर्न नसक्नु तथा संस्थागत निर्णय र छलफल कमजोर हुँदै नेतामुखी बन्नु निर्वाचनमा पराजयका कारण रहेको पोखरेलले बताए।
‘हामी चुनावमा हार्यौं, यो अनपेक्षित परिणाम हो,’ उनले भने, ‘हामी मटियामेट भएका होइनौं, फेरि उठ्ने सामर्थ्य हामीसँग छ।’
आगामी असोजको पहिलो साता बस्ने केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई व्यवस्थित रूपमा अघि बढाउने कार्ययोजना बन्ने उनले बताए।
बाढीको विपत्तिबाट मुलुकलाई निकाल्न सरकार र राजनीतिक दलबीच सहकार्य तथा समन्वय आवश्यक रहेको भन्दै पोखरेलले संघीय सरकार एक्लै हिँड्न खोजेको आरोप लगाए। बाढीका बेला सुरुङमा फसेकाको उद्धारका लागि विज्ञको सहयोग समयमै लिन नसक्दा मानवीय क्षति बढेको उनको दाबी थियो।
कार्यक्रममा एमालेका परराष्ट्र मामिला विभाग प्रमुख प्रदीप ज्ञवालीले सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोग गर्न नसक्दा पार्टी र नेतृत्वविरुद्ध फैलाइएका कुप्रचारको प्रतिवाद गर्न नसकिएको बताए। उनले पार्टीका कमजोरी पहिचान गरी सुधार गर्दै सामाजिक विकासका मुद्दामा बस्ती तहसम्म उपस्थिति बलियो बनाउनुपर्नेमा जोड दिए।
एमाले मधेश प्रदेशले असोजभित्र सबै वडा र कात्तिकभित्र पालिका तहका अधिवेशन सम्पन्न गर्ने तयारी गरेको प्रदेश सचिव मनोज पौडेलले जानकारी दिए। कार्यक्रममा मधेशका आठवटै जिल्लाका केन्द्रीय तथा प्रदेश कमिटी सदस्य र स्थानीय तहका पार्टी प्रमुखहरूको सहभागिता थियो।
एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
Advertisement
तपाईको प्रतिक्रिया