काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दललाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गरेका छन् ।
बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले गृहमन्त्री गुरुङको अभिव्यक्तिलाई लिएर ‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’ भन्दै टिप्पणी गरेका हुन् ।
गृहमन्त्री गुरुङले भदौ २३ गते पुराना राजनीतिक दललाई लक्षित गर्दै ‘सुध्रिन’ चेतावनी दिएका थिए । उनले ‘पहिले हेलिकप्टर चढेर भागेका थियौ, अहिले त्यो पनि हाम्रै हातमा छ । चढिहाल्यौ भने पनि जाक्दिन्छौँ’ भनेका थिए ।
गुरुङको उक्त अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै ओलीले भने, ‘हामीले प्रशंसा गरिदिनुपर्ने हो र ? यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए ।’
ओलीले भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंसलाई देशका लागि ‘कालो दिन’ भएको बताए । उक्त घटनाका कारण देश २५ वर्षभन्दा बढी पछाडि धकेलिएको उनको दाबी छ ।
‘देश २५ वर्षभन्दा धेरै पछि परेको छ । अहिले रमाउनेहरू कम्तीमा २५ वर्षभन्दा पछाडि परेका छन् । त्यो कुरा पछि भोग्दै जाँदा थाहा पाउँछन्, अहिले रमाउनेहरूले पनि,’ ओलीले भने ।
भदौ २४ गतेको घटनाका क्रममा बालकोटस्थित ओलीको निवासमा समेत आगजनी भएको थियो । घटनापछि क्षतिग्रस्त बनेको आफ्नो निवासको अवस्था बुझ्न ओली बुधबार बालकोट पुगेका हुन् । घरको अवस्था निरीक्षण गर्ने क्रममा उनी भावुकसमेत भएका थिए ।
गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
Advertisement
तपाईको प्रतिक्रिया