भालुबाङ। दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित दाेलाई खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुको पहलमा बहुवर्षीय योजनाअन्तर्गत पुल निर्माण अघि बढाइएको हो। राप्ती गाउँपालिका–४ मौरीघाटदेखि वडा नम्बर–९ देविकोट हुँदै बङ्गलाचुली जोड्ने गणतन्त्र मार्ग अन्तर्गत पर्ने दाेलाई खोलामा पुल निर्माण भइरहेको छ।
लुम्बिनी प्रदेश सरकारको ५ करोड २६ लाख ७३ हजार ४ सय ५३ रुपैयाँ लागतमा निर्माण हुने पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर रहनेछ। बहुवर्षीय ठेक्काअन्तर्गत नारायणम निर्माण सेवा प्रा.लि. नेपालगन्जले निर्माणको जिम्मा लिएको छ।
२०८२ मंसिर १४ गते ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको उक्त पुल १६ महिनाभित्र सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको समयभन्दा अघि नै काम सक्ने लक्ष्यसहित निर्माण भइरहेको निर्माण व्यवसायी कृष्ण गिरीले जानकारी दिनुभयो।
प्रदेशसभा सदस्य थारुले पुल निर्माणका लागि बहुवर्षीय बजेट विनियोजन गरिएको र योजनाको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर अनुगमन भइरहेको बताउनुभयो। संघीय सरकारको बजेटको अपेक्षामा केही ढिलाइ भए पनि प्रदेश सरकारको पहलमा निर्माण कार्य अघि बढेको उहाँको भनाइ छ।
यसैक्रममा मंगलबार प्रदेशसभा सदस्य थारु र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्त रूपमा निर्माणस्थलको स्थलगत अनुगमन गर्दै तोकिएको मापदण्डअनुसार गुणस्तरीय सामग्री प्रयोग गरी समयसीमाभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ।
यसअघि पुल नहुँदा वर्षायाममा दाेलाई खोलामा पानीको बहाव बढ्दा स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो। पुल निर्माणपछि राप्ती गाउँपालिका–४ र ९ का स्थानीयवासीसँगै बङ्गलाचुली गाउँपालिकाका नागरिकलाई समेत यातायातमा सहजता हुने अपेक्षा गरिएको छ।
यसैगरी, प्रदेशसभा सदस्य थारुकै पहलमा सोही खोलामा वडा नम्बर–५ र ६ जोड्ने पहरुवा–पत्थरगढवा तथा वडा नम्बर–८ र ४ जोड्ने बिजौरी–नयाँगाउँ पक्की पुल निर्माण कार्य पनि जारी रहेको छ।
मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु
मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु
Advertisement
तपाईको प्रतिक्रिया