कपिलवस्तु । नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७३० स्ववासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) पाएका छन् ।
नापी कार्यालय कपिलवस्तुले बुद्धभूमि–७ का ३३८ र वडा नं. ८ का ३९२ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूले अब आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व पाएका छन् ।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समय रोकिएको थियो । आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरेपछि ७३० थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ ।
लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका परिवारले पुर्जा पाएपछि आफूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामाथि कानुनी स्वामित्व कायम भएको बताएका छन् ।
यसअघि बुद्धभूमि नगरपालिकाका वडा नं. ५, ६ र १० मा गरी २ हजार ४१६ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो ।
सरकारले देशका विभिन्न स्थानमा लामो समयदेखि स्ववासी तथा भूमिहीनका रूपमा बसोबास गर्दै आएका नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाउन लालपुर्जा वितरण अभियान अघि बढाइरहेको छ ।
१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
Advertisement
तपाईको प्रतिक्रिया