‘एकलौटी ढंगले बजेट बनाइयो’ भन्दै वडा नं ३ र ५ का प्रतिनिधि अनुपस्थित
प्युठान — माण्डवी गाउँपालिकाको १८औं गाउँसभा अधिवेशनमा वडा नम्बर ३ र ५ का १० जना सदस्यले अधिवेशन बहिष्कार गरेका छन्। उनीहरूले बजेट निर्माण प्रक्रिया एकलौटी र अपारदर्शी भएको आरोप लगाएका छन्।
वडा नं ३ का अध्यक्ष धनेन्द्र कार्कीका अनुसार गाउँपालिकाको नेतृत्वले वडाबाट योजना मागे पनि छनोट प्रक्रियामा कुनै छलफल नगरी मनपरी ढंगले बजेट तयार गरेको छ।
“योजना छनोटमा वडाको आवाज सुन्ने प्रयासै भएन,” उनले भने, “छलफल र सहमतिविना एकलौटी ढंगले बजेट ल्याइएको देखिएपछि हामी सहभागी भएनौं।”
वडा नं ५ का अध्यक्ष दुर्गा प्रसाद आचार्यले पनि समान असन्तुष्टि व्यक्त गर्दै भने, “स्थानीय आवश्यकता र प्राथमिकता लत्याउँदै अध्यक्ष–उपाध्यक्षले आफ्नो मनपरी योजना घुसाउने प्रयास गरेका छन्। यस्तो प्रवृत्तिविरुद्ध हाम्रो बहिष्कार हो।”
अधिवेशन भने जारी छ। गाउँपालिकाको नेतृत्वले यसबारे कुनै टिप्पणी गरेको छैन।