बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले ‘अग्रजलाई सुनौँ’ कार्यक्रमको शुभारम्भ गरेको छ। पहिलो श्रृंखलामा अग्रज पत्रकार तथा कञ्चनजंगा एफएमबाट प्रशारण हुने ‘समवेदना’ कार्यक्रमका प्रस्तोता शिरो सान्दाई खतिवडालाई बोलाएर कार्यक्रमको थालनी गरिएको हो।
कार्यक्रमका प्रमुख वक्ता खतिवडाले आफूले सञ्चालन गरेको १८ वर्ष लामो ‘समवेदना’ यात्राका अनुभवहरु सुनाउँदै, सामाजिक सम्बन्ध र मान–सम्मान प्राप्तिको कथा साझा गरे। “बीबीसीले समेत कार्यक्रमबारे खोजमुलक समाचार बनाएको थियो,” उनले बताए।
तीन दशकदेखि प्राध्यापन क्षेत्रमा सक्रिय खतिवडाले पत्रकारितासँगको आत्मीय सम्बन्ध, चुनौती र अनुभवबारे समेत खुलस्त मन्तव्य राखे। उनले तथ्य जाँचको संवेदनशीलता र मिडियाको सामाजिक उत्तरदायित्वबारे जोड दिए। कार्यक्रममा झापा शाखाका अध्यक्ष प्रदीप परियारले प्रत्येक तीन महिनामा एक जना अग्रज पत्रकारसँग संवाद गर्ने योजना रहेको जानकारी दिए। पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले यस्तो कार्यक्रमले पुस्ताबीचको अन्तर घटाउन र सिकाइको वातावरण बनाउन मद्दत गर्ने धारणा राखे।
खतिवडाले कार्यक्रमको प्रशंसा गर्दै भने, “पत्रकार महासंघको निर्वाचनमा मात्रै मलाई सम्झिन्छन्, अन्यथा बोलाइँदैन। आज प्रेस चौतारीको औपचारिक कार्यक्रममा पहिलोपटक सहभागी हुन पाउँदा खुशी लागेको छ।”
झापामा ‘अग्रजलाई सुनौँ’ कार्यक्रमको थालनी
झापामा ‘अग्रजलाई सुनौँ’ कार्यक्रमको थालनी

Advertisement
तपाईको प्रतिक्रिया