बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले जित हासिल गरेका छन् । पाण्डेयले ३० हजार मत पाएर निर्वाचित हुंदा एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाएका छन् । नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
पाण्डेयको यो जितसंगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसको पुनरागमन भएको छ । बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो ।
नेकपा एमालेको विभाजन, राष्ट्रिय राजनीतिमा आएको फेरबदलसंगै बनेको ५ दलीय गठबन्धन र उम्मेदवार पाण्डेय निरन्तर जनताको घरदैलोमा पुग्ने बानी, सरल व्यवहार र व्यक्तिगत लोकप्रियताका कारण बुटवलमा एमालेको २५ वर्षे एकछत्र राज ढलेको विश्लेषण गरिएको छ ।
उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९९४ मत पाएर उपाध्यक्ष निर्वाचित हुंदा गुरुङले १६ हजार ९८० मत पाएका छन् ।
अघिल्लो निर्वाचनमा पराजित भएपनि पाण्डेय निरन्तर मतदाताको घरदैलोमा जाने र समस्या समाधानको पहल गरेका थिए । मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव कोरिडोरबाट प्रभावित झण्डै ४ हजार परिवारको वैकल्पिक व्यवस्था गरेर मात्रै यी आयोजना अघि बढाउनुपर्ने स्थानीयको मागमा खेलराजले दरिलो साथ दिए । यस्तै सुकुम्बासी र अव्यवस्थित बसोबासी तथा ज्योतिनगर पहिरो प्रभावितको समस्यामा पनि उनले निरन्तर आवाज उठाए । यही कारण पाण्डेयले सहज जित निकालेका हुन् ।
बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ। नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।
बुटवलमा पाण्डेले जितेसँगै आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको शक्ति समेत एमालेबाट खोसिने संकेत देखिएको छ ।
बुटवललाई साझा चौतारी बनाउंछु,शासक बन्दिन ः पाण्डेय
नगर प्रमुखममा निर्वाचित भएपछि मेयर पाण्डेयले बुटवल उपमहानगरलाई सबै दल र संघसंस्थाको साझा चौतारी बनाई सबैको राय सुझावका आधारमा काम गर्ने बताए । ‘गर्नुपर्ने काम धेरै छन्,तर पहिलो काम बुटवल उपहानगरलाई सबैले अपनत्व लिनेगरी सबै दल र संघसंस्थाको साझा चौतारी बनाउंछु’–पाण्डेयले भने–‘कार्यपालिका गठनपछि सबैको रायसुझावका आधारमा मात्रै निर्णय गर्छु एक्लै केही गर्दिन,अर्को मुख्य कुरा म शासक बन्दिन सेवक बन्छु ।’ चौराहा–बुटवल सडक निर्माणलाई छिटो पूरा गराउन पहल, खानेपानी समस्या, ज्योतिनगर पहिरो नियन्त्रण,मोतिपुर औद्योगिक क्षेत्र,तिनाउ दानव कोरिडोर प्रभावित र सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान नै आफ्ना प्राथमिकता रहेको पाण्डेयले बताए । कार्यभार शुरु गरेपछि कानूनी व्यवस्था गरेर घर बहाल कर, हाटबजार वैठकी कर, ई रिक्सा सवारी कर र सिफारिश शुल्क घटाउने पाण्डेयले बताए । नगरवासीको दुर्घटना बिमाका लागि आर्थिक प्याकेजसहितको विशेष कार्यक्रम ल्याइने उल्लेख छ । जनप्रतिनिधिहरुले निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग गर्ने परिपार्टी अन्त्य गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने पाण्डेयले बताए । आफू मेयरको कुर्सीमा बसेकै आर्थिक हैसियतामा ५ वर्षपछि विदा हुने, कार्यालय समयको आधा समय मतदाताको घरदैलोमा पुग्ने योजना रहेको समेत बताए।
को हुन् खेलराज पाण्डे ?
५ फागुन २०२६ मा बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी– २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका– ६ का बासिन्दा हुन् ।
१३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै शुरु गरे पनि विद्यार्थी संगठनमा आबद्ध भई स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन शुरु गरेका हुन् ।
आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए ।
त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन् ।
विद्यार्थी राजनीतिपछि तरुण दलमा आबद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए ।
२०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन् ।
श्रीमती सीता भट्टराई पाण्डे र छोरा अभिषेक पाण्डेका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् । आफ्नो निजी घर नभएका पाण्डे ३५ वर्षदेखि डेरामा बस्दै आएका छन् । उनको आफ्नो सवारी साधान पनि छैन । पार्टीका कार्यक्रमहरुमा उनी अरुको लिफ्ट मागेर या नजिकमा पैदल हिंडेर पुग्ने गर्छन् । बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र टोलसम्म परिचित व्यक्ति हुन् ।