प्यूठान। जिल्लाको ऐरावती गाउँपालिकामा सत्तागठबन्धनमा कुरा नमिलेपछि दलहरुबिच मित्रवत प्रतिस्पर्धा गर्ने सहमती भएको छ।
सहमतीअनुसार अब सत्ता गठबन्धनका दलहरु छुट्टाछुट्टै निर्वाचन लड्ने छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुको संयुक्त बैठकले छुट्टाछुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा विज्ञप्तिमा कांग्रेस नेताहरु अमरबहादुर रेस्मी र दामु विक, राजमोका टंकप्रसाद पाण्डे र कृष्णप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्रका द्रोण प्रसाद पाण्डे र भिमेस कुमार घर्तीमगर, नेकपा एकीकृत समाजवादीका प्रेम जीसी तथा जनता समाजवादी पार्टीका दामोदर गिरी र माधव जीसीले हस्ताक्षर गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ऐरावती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नविलविक्रम शाह र उपाध्यक्षमा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेत विजयी भएका थिए ।