पाल्पा। गुन्द्रुक भन्ना साथ सागबाट बनाईएको तरकारीका रुपमा प्रयोग गर्ने बस्तु हो भन्ने मात्र बुझिन्छ । तर पाल्पामा भने हरियो घाँसबाट गाई भैँसीलाई खुवाउने गुन्द्रुकको व्यवसायिक उत्पादन थालिएको छ ।
पाल्पामा गाईस्तुका लागि अत्यन्त उपयोगी ठानिने घाँसको गुन्द्रुकको पहिलो पटक व्यवसायिक उत्पादनको सुरुवात गरिएको छ । सुख्खा मौसममा समेत हरियो रहने, हरियो घासमा पाइने भिटामिन तत्व समेत नष्ट नहुने गरी निर्मित घाँसको गुन्द्रुक गाईबस्तुका लागि निकै पोषिलो मानिन्छ । पशुलाई पोषिलो खाद्य वस्तुका रुपमा गुन्द्रुकको प्रयोग र माग वृद्धिसगै जिल्लाको रामपुर क्षेत्रमा व्यवसायिक रुपमा मकै र सुपर नेपिएर घाँसको व्यवसायिक खेति गरिएको छ । कलिलो मकैको बिरुवा र कलिलो सुपर नेपिएरको घाँसलाई मेसिनले मसिनो गराइ प्याकिङ गरिएको गुन्द्रुक दैनिक १५ टन उत्पादन हुने गरेको छ ।
उत्पादित गुन्द्रुक प्रति केजी १२ रुपैंयाका दरले स्थानिय बजारदेखि अन्य जिल्लाका व्यवसायिक पशु फार्महरुमा खपत हुदैँ आएको छ । बस्तुका लागि बहु उपयोगी खाद्य बस्तुका रुपमा प्रयोग हुने गुन्द्रुकमा १८ प्रतिशत प्रोटिन हुने कृषकको भनाई छ ।