नवलपरासी। पश्चिम नवलपरासीका उखु किसानहरुले भुक्तानी दिन अटेरी गर्ने उद्योगपतिलाई ठगी मुद्दा चलाउन माग गरेका छन् ।
उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा आइतबार जिल्ला प्रशासन कार्यालय पुगेको किसानहरुको टोलीले ३ वर्षअघि देखिको भुक्तानी नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालकलाई ठगी मुद्दा चलाउन माग गरेका हुन् । जिल्लामा रहेका ३ उद्योगमध्ये लुम्बिनी र इन्दिरा चिनी उद्योगले १८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कृषक समितिका अध्यक्ष यादवले बताउनुभयो । ति दुई उद्योगले उखु क्रसिङ सिजन ०७४/०७५ देखि ०७६/०७७ सम्मको कुल १८ करोड भुक्तानी गर्न बाँकी छ । जसमा इन्दिराको ८ करोड र लुम्बिनीको १० करोड छ ।
बागमतीको गतवर्षको मात्र केही रकम भुक्तानी बाँकी छ । इन्दिराले केही दिनमा भुक्तानी गर्ने जनाएको छ । तर लुम्बिनीका सञ्चालक सम्पर्कमा नआएकाले उक्त उद्योगका सञ्चालकमाथि ठगी मुद्दा दर्ता गर्न निवदेन लिएर आएको अध्यक्ष यादवले भन्नुभयो । किसानहरुको निवेदनमा लुम्बिनीका सञ्चालक श्रेया अग्रवाल र लेखा प्रमुख कुश प्रसाद सुवेदीविरुद्ध ठगी मुद्दा चलाउन माग गरेका छन् । मुद्दा दर्ता गर्न प्रहरी कार्यालय जानु अघि किसानहरुले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसँग छलफल गरेका थिए ।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी पाठकले आवश्यक कानुनी परामर्शपछि मात्र मुद्दा प्रकृया अघि बढाउने जनाउँदै ठगी सम्बन्धिको निवदेन आफैले राख्नुभएको छ । हप्ता दिनभित्र ठगी मुद्दा नचलाए राजमार्ग बन्द गरेर आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् ।