दीपक एम.सी.,प्युठान। प्युठानमा सलह किरा भगाउन खोज्दा स्थानियको गोठ जलेको छ।
जिल्लाको झिमरुक गाउपालिका ३, आफ्रेखोलामा सलह भगाउनकालागी आगो बाल्ने क्रममा एक स्थानीयको गोठ जलेर पूर्णरुपमा नष्ट भएको हो। बुधबार दिउँसो १ बजेतिर बारीमा आएका सलह भगाउनका लागि आगो बाल्दै गर्दा स्थानीय कल्पना जि सी को गोठमा आगलागी भएको हो। आफू बारीमा सलह भगाउन जाँदा आफ्नो १० वर्षीय छोराले बालेको आगोले गोठ जलेको जिसिले बताउनुभयो। आगलागीले गोठमा भएका घाँस, दाउरा, पराल जलेर पूर्णरुपमा नष्ट भएको छ। “सलहबाट मकै बाली बचाउन लाग्दा लाखौको क्षति भयो।” जिसिले भन्नुभयो, “बरु मकै सलहले खाएको भए कम क्षति हुन्थ्यो, गोठ बच्दथ्यो।” स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो।
जिल्लामा आईतबार यता सलहले आतंक नै मच्चाएको छ। तराईका जिल्ला हुँदै प्युठान भित्रीएको सलहले किसानको अन्नबालीमा ठूलो क्षती समेत पुर्याएको छ।