रोल्पा। जिल्लाको सुनिलस्मृति गाउँपालिकाको सुलिचौर रोल्पाले गाउँपालिका भित्रका किशोरीहरुलाई निःशूल्क पढाउने भएको छ ।
चालु आर्थिक वर्ष देखि गाउँपालिका भित्र कक्षा ११ र १२ मा अध्यनरत किशोरीहरुलाई निशुल्क पढाउन उपाध्यक्ष छात्रवृति कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । गाउँपालिकाले ‘कक्षा १२ सम्मको शिक्षालाई अनिवार्य शिक्षा’ नीति लिएको छ।
त्यस्तै, गाउँपालिकाले आ.व. २०७७÷७८ को लागि पेश गरेको नीति तथा कार्यक्रममा सामुदायीक विद्यालय तर्फ रहेका निजी शिक्षकहरुको अन्त्य गर्ने उल्लेख गरेको छ । गाउँपालिका भित्र रहेका ४२ सामुदायिक विद्यालयहरुमा कार्यरत ५६ जना नीजि शिक्षकहरुको पुन परिक्षा लिई गाउँपालिका शिक्षकमा परिणत गर्ने घर्तीको भनाई छ। उहाका अनुसार गाउँपालिका निजी शिक्षकहरुलाई तलव खुवाउन १ करोड बजेट समेत बिनियोजन भएको छ ।
गाउँशिक्षा समितिको असार ३ गते बसेको बैठकले गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा कार्यरत नीजि शिक्षक व्यवस्थापनको लागि अध्ययन गर्ने निर्णय भएको छ। बैठकले श्रावण मसान्त सम्म प्रतिवेदन पेश गर्न सामाजिक विकास समिति संयोजक नमराज थापाको संयोजकत्वमा ५ सदस्य कार्यदल समेत गठन गरिएको शिक्षा शाखा प्रमुख यादव के.सीले जानकारी गराउनुभयो ।