भैरहवा।रुपन्देहीको बेलहिया नाका भएर शुक्रबार चार सय ३१ जना नेपाली नेपाल भित्रिएका छन् । त्यस्तै बेलहिया नाका भएर शुक्रबारै ११ सय २८ जना भारतीय नागरिक भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जानकारी दिएको छ ।
इप्रका बेलहिया प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार निजी गाडीमा जोर बिजोर प्रणाली लागू भएपछि नेपाल आएकाहरुलाई आ–आफ्नो जिल्ला जान सहज भएको बताए । कतिपय नेपाली निजी गाडी खोजेर आफ्नो जिल्ला जान थालेको र जिल्लामा पुगेर क्वारेन्टाइनमा बस्ने गरी यहाँबाट पठाइएको उनले बताए ।
कतिपय जिल्लाका स्थानीय तहहरुले भने आफ्ना नागरिकहरुलाई आफैले गाडीको व्यवस्था गरेर पनि लैजाने गरेका छन् । आफ्नो जिल्ला जान नपाएकाहरुलाई भैरहवा र आसपासका क्षेत्रमा क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरु रेल तथा सार्वजनिक बसका माध्यमबाट सुनौली नाकासम्म आउने गरेका छन् । त्यसपछि दुवै देशको समन्वयमा एकअर्का देशका नागरिकलाई वारपार गराउने गरिएको छ । नेपाली र भारतीय नागरिक आफ्नो देश फर्कन थालेपछि सीमानाका दिनभरजसो भीड हुने गरेको छ ।