सुरज भट्टराई, रुपन्देही । देवदह नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) संक्रमण, रोकथाम र नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी,पत्रकार तथा एम्बुलेन्स चालकको स्वास्थ्य बीमा गरेको छ । देवदहमा कार्यरत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी,पत्रकार तथा एम्बुलेन्स चालकको प्रतिव्यक्ति रु एक लाखको स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कोरोना बीमा गरिएको देवदह नगरपालिका उप-प्रमुख बिद्या लक्ष्मी गुरुङले जानकारी दिनुभयो ।
नगरपालिकाले जर्नल ईन्सुरेन्स कम्पनी नेपालसंग संझौता समेत गरेको छ। नगरपालिकाले यस्तो जटिल परिस्थितिमा पनि आफ्नो कार्य क्षेत्रमा खटिन सहज होस् भनेर बिमा गरेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख हिरा केसीले नगरक्षेत्रमा प्रवेश गर्ने मुख्य नाकाहरुमा कडाइ गरिएको जानकारी दिदै उच्च साबधानी अपनाउन सबैलाई आग्रह गरिएको बताउनुुभयो।