ओमप्रकाश गुप्ता, सिसहनियाँ । पुस महिनाको मुटु ठिहिराउने चिसो र वर्षातका बाबजुत पनि सिसहनियाँ महोत्सव हेर्न दर्शकहरुको उपस्थितीमा कमि देखिएको छैन । दाङ देउखुरीको राप्ती ५ सिसहनियाँमा सञ्चालित प्रथम अाैधोगिक तथा कृषि व्यापार मेलाको बुधबार साताैँ दिनमा पनि दर्शकहरुको सहभागिता उल्लेख्य थियो। बुधबार दिउँसो करिव ३ बजे देखि परेको सिमसिमे वर्षालाई छलेर दर्शकहरू त्रिपालमुनि उभिएर पनि महोत्सव अवलोकन गरेका छन् ।
अायोजकले दर्शक र स्टेजमा समेत त्रिपालको व्यवस्था मिलाएपछि वर्षाले समेत महोत्सवलाई रोक्न सकेको छैन । तर चिसो र वर्षाले दर्शकको संख्यामा भने केही कमी अाएको मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् । महोत्सवमा बुधबार गायक प्रेम शर्मा र गायिका भुमिका गिरीले अाफ्नो प्रस्तुती मार्फत दर्शकहरूलाई मनोरञ्जन दिएका छन् । भने स्थानीय कलाकारहरूले पनि मनोरञ्जन दिएका थिए ।