नवलपरासी। भ्रमण वर्षको पश्चिम नवलपरासीका जिल्लामा भ्रमण वर्षको रौनक बढेको छ। यहाँका धार्मिक तथा पर्यटकीयस्थलहरुमा पर्यटकीय गतिविधि बढ्नाका साथै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढ्दैछ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला ऐतिहासिक, धार्मिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण र धनी जिल्ला हुनाका साथै पहाड र मधेशको मिश्रण अनि थारू, मगर, गुरुङलगायतका आदिवासी जनजातिहरुको विविध सांस्कृतिक पहिचान पनि जिल्लाको आकर्षण भएकाले यसको प्रचारप्रसार र प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्न सकिने सरोकार पक्षको विश्वास छ । पश्चिम नवसलपरासीमा भ्रमण वर्षका कार्यक्रम शुरु गरिएको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जानकारी दिए । ‘ भ्रमण वर्ष सफल बनाउन लागिपरेका छौँ, भ्रमण वर्ष शुरु भएसँगै सरकारी, निजी क्षेत्र, पर्यटन व्यवसायीलगायत सबै क्षेत्र उत्साहित हुनुहुन्छ, उनले भने । जिल्लास्तरीय समितिले लाखौँ पर्यटक भित्र्याउने गरी योजना बनाएर काम शुरु गरेको समितिका जिल्ला अध्यक्ष रायको भनाइ छ ।रामग्राम स्तूप, पण्डितपुर, देवदह ताल तरगौली, महलपोखरी, बाबा बर्दगोरिया, कोलवृक्ष, बुद्धमङ्गल ताल, संसारकोट, पाल्ही भगवती मन्दिर, अनोमाघाट, चुहाडीलगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुलाई प्रमुख गन्तव्यका रूपमा छनोट गरिएको छ । पर्यटकलाई आकर्षित गर्न भुमहीदेखि उत्तरतर्फको जङ्गल र बुद्धशान्ति साझेदारी वनमा जङ्गल सफारीका लागि सम्भाव्यता अध्ययन भइरहेको उनले बताए ।जिल्लामा आउने पर्यटकलाई जिल्लाभित्रका धार्मिक तथा पर्यटकीयस्थलहरुका बारेमा जानकारी गराउन पर्यटन सूचना केन्द्र स्थापना गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ। जिल्लास्तरीय समितिले पर्यटकीयस्थलहरुमा कम्तीमा एक महिनामा एक कार्यक्रम गर्ने योजना अघि सारेको जनाएको छ । पश्चिम नवलपरासी जिल्ला विविध जातजाति र भाषाभाषीको सङ्गमस्थलसमेत रहेकाले थारू, मगर, गुरुङ लगायतका आदिवासी जनजातिका संस्कृति प्रदर्शनी तथा साङ्गीतिक मनोरञ्जनको माध्यमबाट पनि पर्यटक आकर्षण गर्ने गरी वार्षिक कार्यक्रम बनाइएको छ ।
संस्कृति प्रदर्शनमार्फत पर्यटक आकर्षण गर्न जिल्लाका विविध विधागत कलाकारहरुलाई सङ्गठित गरी अशोक श्रेष्ठको संयोजकत्वमा जिल्ला सांस्कृतिक पर्यटन प्रवद्र्धन समूह गठन गरिएको छ । भुमहीस्थित नेचर रे रिभर भ्यू रिसोर्टले भ्रमण वर्ष सफल बनाउन जिल्लामै पहिलोपटक दोहोरी साँझ शुरु गरेको छ ।समृद्धिको आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्दै पर्यटक आकर्षण, पर्यटकको बसाइ लम्ब्याउने र खर्चालु पर्यटकलाई भित्र्याई स्थानीय समुदायलाई रोजगारीको अवसर, आर्थिक चलायमान र जीवनस्तर परिवर्तनमा भ्रमण वर्ष कोसेढुङ्गा सावित हुने उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारी बताउँछन् ।
भगवान् गौतम बुद्धका अस्तुधातु रहेको स्थल रामग्राम स्तूप जिल्लाको मुख्य पर्यटकीयस्थल हो भने गौतम बुद्धसँग सम्बन्धित पण्डितपुर, अनोमाघाट, देवदह ताल, बुद्धमङ्गल तालसहित पाल्ही भगवती मन्दिर, बाबा बर्दगोरिया, महलपोखरी, कञ्चनगढी, चुहाडी, मदारबाबा, कोलवृक्ष जावा, संसारकोट, बाउन्नघोला सिमसार क्षेत्रलगायतका स्थल जिल्लामा घुम्न लायक गन्तव्यमा पर्दछन् । पश्चिम नवलपरासीमा जनवरी १ तारिखमा भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपबाट भ्रमण वर्षको शुभारम्भ गरिएको थियो । जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिको आयोजनामा पर्यटकहरुलाई बाह्य तथा आन्तरिक पर्यटकलाई स्वागत गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको थियो । उक्त अवसरमा चीनलगायत विभिन्न देशबाट आएका बाह्य पर्यटक र आन्तरिक पर्यटकसमेत गरी ७० पर्यटकलाई स्वागत गरी भ्रमण वर्षका बारेमा जानकारी गराइएको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिका सदस्य गायत्री आचार्यले बताए ।रामग्राम नगरपालिकाले पनि बुद्धकालीन स्थल पण्डितपुरबाट भ्रमण वर्षको शुभारम्भ गरेको छ ।
जिल्लाका स्थानीय तहहरु पनि भ्रमण वर्ष सफल बनाउन जुटेका छन् । रामग्राम नगरपालिकाले नगरस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरेर बुद्धस्थल पण्डितपुरमा जानकारीमूलक होर्डिङ बोर्ड स्थापना गरी भ्रमण वर्षको शुभारम्भ गरेको छ । पण्डितपुरमा आउने पर्यटकले त्यहाँका बारेमा सहजै जानकारी लिन सकून् भन्ने उद्देश्यले होर्डिङ बोर्डमा नेपाली र अङ्ग्रेजी भाषामा पण्डितपुरको महत्वबारे जानकारी समावेश गरिएको नगरप्रमुख नरेन्द्र गुप्ताले जानकारी दिए ।उक्त स्थलमा यही जनवरी महिनाको अन्तिम साता जियो फिजिक्स सर्भे गरी पण्डितपुरको थप उत्खनन गर्ने र गुरुयोजना बनाएर विकास गर्ने नगरपालिकाको तयारी रहेको नगरप्रमुख गुप्ताले बताए । रामग्राम स्तूप र पण्डितपुर रामग्राम नगरपालिकाका प्रमुख गन्तव्य स्थल हुन् ।
बर्दघाट नगरपालिका पनि नगरस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरी भ्रमण वर्ष सफल बनाउन जुटेको छ । समितिको पहिलो बैठक बसेर नगरभित्रका सबै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको पहिचान गरी तथ्याङ्क सङ्कलन गर्ने, प्रचारप्रसार गर्ने, नगरपालिकाबाट संसारकोट हुँदै गण्डकी प्रदेशको विनय त्रिवेणीसम्म पदमार्गका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने विशेष योजना अघि सारिएको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए । नगरपालिकाभित्र संसारकोट, बुद्धमङ्गल ताल, कञ्चनगढी, बाउन्नघोला सिमसार क्षेत्र र शहीद पार्कप्रमुख धार्मिक तथा पर्यटकीयस्थलहरु हुन् । सुनवल नगरपालिकाले पर्यटकीय नगरीका रूपमा विकास गर्ने गरी भ्रमण वर्षको कार्यक्रम अगाडि बढाएको छ । नगरपालिकाले नगरस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिसकेको नगरप्रमुख भीमबहादुर थापाले बताए । यो नगरपालिकाभित्र देवदह ताल तरगौली, बाबा बर्दगोरिया, महलपोखरी, कृष्णधाम, बैरागनाथ मन्दिर, हिलपार्क निर्माणाधीन प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरु हुन् ।
सुस्ता गाउँपालिकाले गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि केश मुण्डन गरी गेरु वस्त्र धारणा गरेको स्थल अनोमाघाटमा पत्रकार सम्मेलन गरी भ्रमण वर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय पर्यटन प्रवद्र्धन समिति गठन गरेर भ्रमण वर्षका कार्यक्रम तय गरिने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । भ्रमण वर्षका अवसरमा गन्तव्य सुस्तालगायतका कार्यक्रम घोषणो तयारी गरेको छ ।