टेकबहादुर पुन, दाङ। मंसिर १४ गते हुन थालेको उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामाग्री लिएर कर्मचारीहरु मतदान स्थल पुगेका छन् । उनीहरुलाई निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर जिल्ला निर्वाचन कार्यालयले मतदान स्थल पठाएको हो ।
कर्मचारी सँगै सुरक्षाकर्मीहरु पनि निर्वाचन स्थल पुगि सकेका छन । कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटी, मतपत्र, आवश्यक पर्ने अन्य सामग्री दिएर मतदान स्थल पठाएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । ‘हामीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री दिएर कर्मचारीहरुलाई मतदान स्थलमा पठाएका छौँ’,सूचना अधिकारी कुँवरले भने,‘सबै स्थलमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसक्नु भएको छ ।’ निर्वाचनका लागि ४ सय १० जना कर्मचारी र ३ सय २६ जना स्वंयसेवक गरि ७ सय ३६ जना कर्मचारीहरु निर्वाचनका लागि निर्बाचन स्थलमा खटिएका छन । त्यस्तै निर्वाचनका लागि २ हजार बढि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी परिचालन गरिएको हो । ‘नियमित चेकजाच सँगै अस्थायी क्याम्प स्थापना गरिसकेको छ’,जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने,‘निर्वाचनलाई स्वच्छ,भयरहित बनाउनका लागि सुरक्षामा कुनै कमी हुने छैन ।’ उनका अनुसार जिल्लामा ६ वटा मतदान स्थल अति संवेदनशील, २६ वटा मतदान स्थल संवेदनशील र २ वटा मतदान स्थल सामान्य रहेका छन । सुरक्षा संवेदनशीलताका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै नेपाली सेनालाई समेत परिचालन गरिएको छ । मतदान स्थल पुगेका कर्मचारीहरुले मतदान स्थललाई सिल गर्ने, मदिरा निषेधित क्षेत्र तथा होहल्ला निषेधित क्षेत्र तोकिएको सूचना प्रकाशन गर्ने लगायतका काम गरिरहेका छन् ।
दाङमा उपनिर्वाचनका ३४ मतदान स्थल र ८२ वटा मतदान केन्द्र रहेका छन् । प्रत्यक मतदान केन्द्रमा ५ जना कर्मचारी र स्वयंसेवक रहने भएको निर्वाचन कार्यालयले जनाएको छ ।दाङमा २ स्थानमा उपनिर्वाचन हुँदैछ । प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडाअध्यक्ष पदका लागि उम्मेद्वारी हरु चुनाबी प्रतिष्प्रधामा छन् । मंसिर १४ गते हुने प्रदेश शभा ३ ‘ख’ मा ७३ हजार १ सय ७२ जना मतदाता रहेका छन् । जसमा महिला ३७ हजार ३ सय ५ जना र पुरुष ३५ हजार ८ सय ६६ तथा १ जना त्यस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १,२, १०, ११ मा १६ हजार ७१ जना रहेका छन् । जसमा महिला ८ हजार १ सय ६५ जना र पुरुष ७ हजार ९ सय ५ जना रहेका छन् । दंगीशरण गाऊपालिकामा १५ हजार ६ सय ९६ जना मतदाता रहेका छन् । जसमा महिला ७ हजार ९ सय ८१ जना र पुरुष ७ हजार ७ सय १५ जना रहेका छन् । बबई गाउँपालिकामा १८ हजार ८ सय ४९ जना मतदाता रहेका छन् । जसमा महिला ९ हजार ५ सय ११ र पुरुष ९ हजार ३ सय ३८ जना रहेका छन् । शान्ति नगरगाउँपालिकामा १८ हजार १ सय ३ जना मतदाता रहेका छन् । जसमा महिला ९ हजार २ सय ८३ जना र पुरुष ८ हजार ८ सय २० जना मतदाता रहेका छन् ।त्यस्तै घोराही उपमहानगरपालिका वडा नंं. १६ मा ४ हजार ४ सय ५३ जना मतदाता रहेको छन् । महिला २ हजार ३ सय ६५ जना र पुरुष २ हजार ८८ जना रहेका छन् ।