गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा महिलाहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा तथा इस्मा गाउँपालिका वडा नम्बर–१ को समन्वयमा सञ्चालन गरिएको उक्त तालिममा वडा नम्बर–१ र २ का २२ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।
तालिम अवधिभर सहभागी महिलाहरूलाई विभिन्न प्रकारका अचार बनाउने व्यावहारिक सीप प्रदान गरिएको थियो । तालिममा स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी गुणस्तरीय र स्वादिलो अचार उत्पादन गर्ने विधि, सरसफाइ, प्याकेजिङ तथा बजारिकरणसम्बन्धी आधारभूत जानकारी समेत दिइएको थियो ।
तालिम समापनको अवसरमा सहभागी महिलाहरूले तयार पारेका विभिन्न प्रकारका अचारहरूको प्रदर्शनी समेत गरिएको थियो, जसले तालिमको प्रभावकारिता झल्काएको थियो । तालिम समापन कार्यक्रममा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो ।
कार्यक्रममा इस्मा गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्षले महिलाहरूलाई सीपमूलक तालिमले आत्मनिर्भर बन्न ठूलो टेवा पुग्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले सिकेको सीपलाई व्यवहारमा उतारी आम्दानीको स्रोत बनाउन महिलाहरूलाई आग्रह गरे ।
कार्यक्रममा इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पराजुलीले सीप विकासमार्फत महिलाहरूलाई उद्यमशील बनाउने गाउँपालिकाको नीति रहेको उल्लेख गरे ।
उनले तालिमपछि महिलाहरूले समूह वा व्यक्तिगत रूपमा व्यवसाय सुरु गर्न सके स्थानीय अर्थतन्त्र बलियो बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले महिलाहरूको आर्थिक सशक्तीकरण बिना समग्र विकास सम्भव नहुने बताए । उनले घरेलु तथा साना उद्योग कार्यालयसँगको सहकार्यमा यस्ता तालिमहरू आगामी दिनमा पनि सञ्चालन गरिने प्रतिवद्धता जनाउँदै तालिमलाई व्यवसायमा रूपान्तरण गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले तालिम सञ्चालनको उद्देश्य, प्रक्रिया र उपलब्धिबारे जानकारी गराउँदै महिलाहरूलाई स्वरोजगार बनाउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको बताए । उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सके महिलाहरूले आत्मनिर्भर जीवनयापन गर्न सक्ने उल्लेख गरे ।
तालिममा सहभागी टीका कुँवरले तालिमबाट धेरै नयाँ ज्ञान सिक्न पाएको बताउँदै अवसर पाए व्यावसायिक रूपमा अचार उत्पादन गर्ने उत्साह थपिएको बताइन । उनि जस्तै अन्य सहभागी महिलाहरूले पनि तालिम अत्यन्त उपयोगी भएको भन्दै आगामी दिनमा यस्ता थप तालिमको अपेक्षा व्यक्त गरेका थिए ।
तालिम समापन कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका उद्यम विकास सहजकर्ता त्रिबिक्रम ज्ञवालीले गरेका थिए । यस प्रकारको सीपमूलक तालिमले ग्रामीण क्षेत्रका महिलाहरूलाई आत्मनिर्भर बनाउने, स्वरोजगार सिर्जना गर्ने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने विश्वास कार्यालयले लिएको ज्ञवालीले बताए ।
इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान
इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान
Advertisement
तपाईको प्रतिक्रिया