दाङ — दाङ देउखुरीको गढवा गाउँपालिकामा आठ दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा चेकजाँच शिविरमा ९३० जनाले सेवा लिएका छन्। शिविरमा १४६ जनामा मोतियाबिन्दु रोग पत्ता लागेको छ।
गढवा गाउँपालिकाको समन्वय, किभा फाउन्डेसन नेपालगन्जको आयोजना र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहयोगमा गाउँपालिकाका ८ वटै वडा कार्यालयमा शिविर गरिएको हो।
कार्यक्रम संयोजक व्रिजेश मिश्रका अनुसार वडा नं. १ देखि ८ सम्म सञ्चालन भएका शिविरमा ५ जना देखि ३३ जनासम्म मोतियाबिन्दुका बिरामी भेटिएका छन्। कोइलाबासस्थित वडा नं. ८ मा मात्रै २० जनाको आँखा परीक्षण हुँदा ३ जनामा मोतियाबिन्दु फेला परेको उनले बताए।
शिविरमार्फत पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि तिलगंगा आँखा सर्जिकल सेन्टर सिसहनिया, देउखुरीमा रिफर गरिने भएको छ। यस्तै आँखा वरिपरि मासु पलाएका १७ जनालाई सहुलियत दरमा शल्यक्रियाका लागि पठाइने बताइएको छ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले यस किसिमका स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले भने, “स्वास्थ्य नै समृद्ध जीवनको आधार हो। आँखा जस्तो संवेदनशील अंगको उपचारमा कुनै नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले हामीले सबै वडामा आँखा शिविर पुर्याएका हौं।”
उनका अनुसार संघ, प्रदेश र विभिन्न संस्थासँग सहकार्य गरेर आगामी दिनमा अझ प्रभावकारी स्वास्थ्य कार्यक्रम ल्याइनेछ।
गढवा गाउँपालिकाको निःशुल्क आँखा शिविरमा सयौँलाई राहत
गढवा गाउँपालिकाको निःशुल्क आँखा शिविरमा सयौँलाई राहत

Advertisement
तपाईको प्रतिक्रिया