भालुबाङ। दाङको राप्ती गाउँपालिकामा खाली जग्गा उपयोग गर्दै सामूहिक सखरखण्ड खेती सुरु गरिएको छ। कृषकलाई आत्मनिर्भर बनाउन सुरु गरिएको यो अभियानमा आइतबार सभामुख तुलाराम घर्ती मगर र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टसहितका जनप्रतिनिधि श्रमदानमा सहभागी भएका छन्।
गाउँपालिकाको वडा नम्बर २ कठाहा क्षेत्रमा करिब दुई बिघा नदी उकास जमिनमा प्रगतिशील कृषक समूह र कठाहा गाउँ भूमि अधिकार मञ्चले वडा अध्यक्ष पहलवान चौधरीको पहलमा खेती थालेका हुन्। आवश्यक बेर्ना, कृषि औजारको भाडा र प्राविधिक सहयोग गाउँपालिकाको साझेदार संस्था सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी)ले उपलब्ध गराएको छ। अहिले श्रमदानमार्फत बिरुवा रोप्ने काम भइरहेको वडा अध्यक्ष चौधरीले बताए।
श्रमदानका क्रममा सभामुख घर्तीले कृषकको आयआर्जन बढाउन सामूहिक खेतीलाई प्रभावकारी पहलका रुपमा लिनुपर्ने बताए। “नेपालजस्तो कृषि सम्भावना भएका मुलुकमा अझै उत्पादन र बजार व्यवस्थापनमा चुनौती छन्,” उनले भने, “सामूहिक खेतीले कृषकलाई संगठित बनाउनका साथै उत्पादनलाई बजारसम्म पु¥याउन सहज बनाउँछ।”
गाउँपालिका अध्यक्ष बिष्टले कृषक आत्मनिर्भर बनाउन दीर्घकालीन योजना अघि सारिएको उल्लेख गर्दै उत्पादनलाई बजारसम्म पु¥याएर उचित मूल्य दिलाउनु अहिलेको आवश्यकता भएको बताए। “उत्पादन प्रवर्द्धन र बजार व्यवस्थापनमा पालिकाले निरन्तर सहयोग गर्नेछ,” उनले प्रतिवद्धता जनाए।
सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकी कृषि प्राविधिक सीता कुमारी चौधरीले सो क्षेत्रको माटो सखरखण्ड खेतीका लागि उपयुक्त रहेको बताइन्। उनका अनुसार प्रति कठ्ठामा पाँचदेखि छ क्विन्टलसम्म उत्पादन हुने लक्ष्य छ। उत्पादन भएको सखरखण्डलाई सामूहिक रूपमा नजिकैको हाटबजारमा बिक्री गर्ने र आवश्यकता अनुसार जिल्ला बाहिर समेत पठाउने तयारी गरिएको छ।
आगामी माघदेखि सो क्षेत्रमा खरबुजा खेती गर्ने तयारी भइरहेको वडा अध्यक्ष चौधरीले जानकारी दिए। यसअघि गाउँपालिकाले विपन्न नागरिकलाई रोजगारीसँग जोड्ने उद्देश्यले २० हेक्टरभन्दा बढी क्षेत्रमा सामूहिक रूपमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपिसकेको छ।
राप्तीको बगरमा सामूहिक सखरखण्ड खेती
राप्तीको बगरमा सामूहिक सखरखण्ड खेती

Advertisement
तपाईको प्रतिक्रिया