गढवा — दाङको गढवा गाउँपालिकामा पहिलोपटक किसानले सरकारी दरमा दूध बेचेर महिनामै भुक्तानी पाएपछि स्थानीय दुग्ध उत्पादक खुसी भएका छन्। गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले किसानसँग दूध खरिद गर्दै मासिक भुक्तानी सुरु गरेको हो।
सहकारीले साउन ७ गतेदेखि गढवा प्रहरी चौकी नजिकै सञ्चालनमा ल्याएको संकलन तथा बिक्री केन्द्रमार्फत किसानले ल्याएको दूध खरिद गर्न थालेको छ। यसका लागि गाउँपालिकाले बुटवलस्थित एक विशिष्टीकृत सहकारीसँग सम्झौता गरी सरकारी दरमै दूध संकलन र बजारीकरणको व्यवस्था मिलाएको हो।
गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलका अनुसार यसअघि किसानले उत्पादन गरेको दूधको भुक्तानी महिनौँसम्म रोकिँदै आएको र सस्तो दरमै बेच्न बाध्य हुने समस्या समाधान भएको छ। “अब किसानले सरकारी दरमै दूध बेच्न पाउने मात्र होइन, प्रत्येक महिनामा भुक्तानी अनिवार्य हुन्छ,” अध्यक्ष पोखरेलले भने।
सरकारी दरअनुसार प्रति फ्याट ७ रुपैयाँ १५ पैसा र प्रति एसएनएफ ४ रुपैयाँ ५४ पैसा कायम गरिएको छ। सहकारीमार्फत किसानलाई दाना उपलब्ध गराउने व्यवस्थासमेत गरिएको कार्यक्रम संयोजक बसन्तकुमार शर्माले जानकारी दिए।
दैवराज यादवजस्ता स्थानीय किसानले यसलाई ‘आशाको किरण’ भनेका छन्। उनका अनुसार बर्खाको समयमा दूधको बजार नपाई समस्या थपिने गरेकोमा यो कार्यक्रमले सहजता ल्याएको छ। गढवामा यादव समुदायको मुख्य पेशा खेती र भैंसीपालन भए पनि समयमै भुक्तानी नपाउँदा किसानलाई थप मर्का परेको थियो।
गढवा सामाजिक उद्यमी महिला सहकारीले अहिले बिहानको दूध संकलन गर्दै आएको छ। व्यवस्थापक रम्भुनाथ चौधरीका अनुसार छिट्टै गाउँपालिकाका अन्य वडाबाट समेत दूध संकलन सुरु गरिने तयारी भइरहेको छ।
दुधको नियमित भुक्तानीसँगै गढवाका किसान खुसी
दुधको नियमित भुक्तानीसँगै गढवाका किसान खुसी

Advertisement
तपाईको प्रतिक्रिया