दाङ। दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरमा आधुनिक दूध संकलन केन्द्र स्थापना गरिएको छ। किसानको उत्पादनलाई उचित मूल्यमा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको केन्द्रले दैनिक रूपमा किसानबाट दूध संकलन गर्नेछ।
राजपुर गाउँपालिकाको भिटा कार्यक्रमअन्तर्गत स्थापना गरिएको केन्द्रको उद्घाटन गाउँपालिका अध्यक्ष सरदकुमार बुढाथोकी, उपाध्यक्ष धनपती देवी यादव, वडा अध्यक्ष रामप्रसाद अहिरसहित स्थानीय जनप्रतिनिधि र कृषकहरूको उपस्थितिमा सम्पन्न भएको हो। केन्द्रमा डिजिटल तौल प्रणाली, चिलिङ सिस्टम र भण्डारण ट्याङ्की जडान गरिएको छ।
स्थानीय किसान पुस्पा यादवका अनुसार, अघिसम्म ६० रुपैयाँ प्रतिलिटरमा दूध बिक्री गर्न बाध्य किसानले अहिले संकलन केन्द्रमार्फत १०६ रुपैयाँ प्रतिलिटरमा दूध बेच्न थालेका छन्। “अब हामीले निश्चित मूल्यमा दूध बेच्न पाउनेभएकाले किसानलाई न्याय हुने विश्वास छ,” यादवले भनिन्। भिटा परियोजना संयोजक गिरिराज भट्टका अनुसार, केन्द्रको सञ्चालन, व्यवस्थापन र अनुगमन स्थानीय सहकारी संस्थामार्फत हुनेछ। दूधको गुणस्तर र परिमाणको आधारमा मूल्य निर्धारण गरिनेछ।अध्यक्ष बुढाथोकीले उद्घाटन समारोहमा बोले, “यो केन्द्र किसानको जीवनस्तर उकास्ने महत्वपूर्ण आधार हुनेछ। आगामी दिनमा राजपुरलाई दूधको केन्द्र बनाउने हाम्रो योजना छ।”
उपाध्यक्ष धनपती देवी यादवले दूध संकलन केन्द्र स्थापना कृषि तथा पशुपालन क्षेत्रको ठूलो उपलब्धि भएको बताइन्। “अब किसानले सस्तोमा दूध बेच्नुपर्छ कि भन्ने चिन्ता गर्नु पर्दैन,” उनले भनिन्।स्थानीय तहको अनुमानअनुसार, केन्द्रबाट दैनिक १,००० घरधुरीबाट २,००० लिटरभन्दा बढी दूध संकलन गरिनेछ। आगामी दिनमा नस्ल सुधार, पशु आहार अनुदान र तालिम कार्यक्रम समेत सञ्चालन गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ।
राजपुरमा दूध संकलन केन्द्र स्थापना, किसान लाभान्वित हुने आशा
राजपुरमा दूध संकलन केन्द्र स्थापना, किसान लाभान्वित हुने आशा

Advertisement
तपाईको प्रतिक्रिया