दैलेख — दैलेख जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये करिब आधा सम्बन्धविच्छेदका रहेका छन्। चालु आर्थिक वर्ष ०८१/८२ र अघिल्लो वर्षबाट सरेर आएका गरी अदालतमा कुल ५ सय ३३ मुद्दा दर्ता भएका छन्। तीमध्ये २ सय ३६ वटा मुद्दा सम्बन्धविच्छेदका हुन्।
सोमबार अदालतले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेस्तेदार उपसचिव बीरेन्द्रबहादुर मल्लले २ सय ३६ मुद्दा सम्बन्धविच्छेदका रहेको जानकारी दिएका हुन्। यो संख्या कुल मुद्दाको ४४.२७ प्रतिशत हो।
उनका अनुसार, दर्ता भएका मुद्दामध्ये ३ सय ८५ मुद्दाको फैसला भइसकेको छ। बाँकी १ सय ४८ मुद्दामध्ये अधिकांश ६ महिनाभित्र दर्ता भएका हुन्।
प्रयोगशालाको रिपोर्ट चाडो नआउँदा फैसला ढिलाई
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले बलात्कार र व्यक्ति हत्या जस्ता मुद्दामा फैसला गर्न ढिलाइ हुनुको प्रमुख कारण विधि विज्ञान प्रयोगशालाबाट स्वास्थ्य परीक्षण प्रतिवेदन नआउनु रहेको बताए।
‘विधि विज्ञान प्रयोगशालालाई पटकपटक प्रतिवेदन पठाउन अनुरोध गरिए पनि समयमै प्रतिवेदन नआएको’ भन्दै उनले यसले अदालतको शिघ्र सुनुवाइ प्रणाली प्रभावित भएको उल्लेख गरे।
लैंगिक हिंसा सम्बन्धी मुद्दामा १ सय २० दिनभित्र फैसला गर्नु पर्ने प्रावधान भए पनि आवश्यक प्रतिवेदन अभावमा त्यो सम्भव नभएको उनको भनाइ छ।
थुनुवा र बाल यौनदुरुपयोग मुद्दामा पनि ढिलाइ
अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायका अनुसार हालसम्म ७८ जना थुनुवामध्ये ५६ जनाको मुद्दा टुंगिएको छ। बाँकी २२ जना थुनुवामध्ये ३ जना महिला र १९ जना पुरुष छन्।
त्यस्तै, बाल यौनदुरुपयोग सम्बन्धी पुराना १० र नयाँ ११ मुद्दामध्ये १८ मुद्दामा फैसला भइसकेको छ भने ३ मुद्दाको फैसला हुन बाँकी छ।
‘न्याय प्रक्रिया अझै प्रक्रियामुखी’
कार्यक्रममा सहभागी पत्रकारहरूले अदालतको काम अत्यधिक प्रक्रियामुखी रहेको भन्दै न्याय ढिलो हुने अवस्था कायम रहेको टिप्पणी गरे।
कार्यक्रममा जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपाने, बार एशोसिएसनका अध्यक्ष प्रेमबहादुर थापा र नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारलगायतको उपस्थिति थियो।