प्युठान। ऐरावती गाउँपालिकाको उपाध्यक्ष पदमा ७५ वर्षीय एक वृद्धले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
ऐरावती गाउँपालिका–३ अर्जाम निवासी टीका बहादुर गुरुङले आज मनोनयन दर्ता गराएका हुन् ।
२०७४ सालको स्थानिय निर्वाचनमा एमालेबाट पालिका अध्यक्षमा चुनाब लडेका उनी नेपाली कांग्रेसका नविल बिक्रम शाहसंग १६ मतान्तरले पराजीत भएका थिए। उनी यसपाली पनि गाउँपालिका अध्यक्षका आंकाक्षि थिए।
हाल लुम्बिनी प्रदेस कमिटी सदस्य रहेका नेता गुरुङ नेकपा एमालेका पुराना नेता हुन् । तर, पटक पटक पार्टीबाट जानकारी लिन खोज्दा एमालेले अन्तिम समय सम्म पनि पालिकामा उम्मेद्वार वारे जानकारी नदिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।
अनलाईनखबर संग कुराकानी गर्दै उनले गएको चुनावमा पार्टिभित्रकै अन्तर्घातका कारण पराजय ब्योहर्नुपरेको पनि आरोप लगाए। कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने गुरुङको भनाई छ। ऐरावती गाउँपालिकामा एमालेबाट अध्यक्षका लागी श्यामबहादुर थापा र उपाध्यक्षका लागि कमलाकुमारी ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । अरु वडा अध्यक्षले पनि मनोनयन दर्ता गराउदैछन् ।