बुटवल । रूपन्देहीका संस्थागत विद्यालयहरुले आफ्ना शिक्षकहरुलाई लकडाउन अवधिभरको पारिश्रमिक दिने निर्णय गरेका छन् । वैशाख महिनादेखि तलब नपाएका शिक्षकहरुलाई पहिलो चरणमा आंशिक रुपमा तलब दिइने भएको छ ।
मासिक तलबमानको कम्तिमा २५ प्रतिशत नघट्ने गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय उनीहरूले गरेका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रुपन्देहीको सोमबार भएको भेलाले शिक्षकहरुलाई आंशिक तलब दिने निर्णय गरेको अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिए । लकडाउनका कारण चैत महिनादेखि विद्यालय बन्द भएपछि तलब नपाएका शिक्षकहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै हाललाई राहतस्वरूप २५ प्रतिशत भन्दा कम नहुने गरी तलब उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष पौडेलले बताए । बाँकी तलबबारे आगामी अवस्था र सरकारको निर्णय अनुसार पछि गरिने पनि उनले बताए ।“लामो समयदेखिको लकडाउनले शुल्क उठाउन नपाएका कारण निजी विद्यालयहरु आफै आर्थिक संकटमा भए पनि शिक्षक कर्मचारीहरुको स्थिति झन् नाजुक बनेकाले राहतस्वरुप तलबमानको कम्तिमा २५ प्रतिशत नघट्ने गरी पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित विद्यालय व्यवस्थापनलाई अनुरोध गर्दछौं” अध्यक्ष पौडेलले भने ।
भेलाको निर्णयबारे सबै सदस्य विद्यालयका व्यवस्थापन समितिलाई पत्राचार गरिने प्याब्सनका सचिव लक्ष्मण ज्ञवालीले बताए । आफ्नो विद्यालयको आर्थिक अवस्था हेरी सो भन्दा बढी पारिश्रमिक दिन सकिने पनि भेलाले निर्णय गरेको सचिव ज्ञवालीको भनाइ छ । रूपन्देही जिल्लामा प्याब्सन आवद्ध २ सय ४२ विद्यालयहरुमा करिब सात हजार शिक्षक–कर्मचारी रहेका छन् ।
सुरक्षा प्रबन्धसहित पठन पाठन गराउने तयारी
यसैबीच प्याब्सनले सुरक्षा प्रबन्धसहित नियमित पठनपाठन सुरु गर्ने तयारी गरेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुसहित कार्यदले सदस्य विद्यालयहरुको अवस्थाका बारेमा अध्ययन गरेपछि बालबालिकाको सुरक्षा प्रबन्धका साथ नियमित पठनपाठन सुरु गर्न सकिने अवस्था तयार हुँदै गएको निष्कर्षमा पुगिएको वरिष्ठ उपाध्यक्ष अनन्तराम शर्माले जानकारी दिए ।