राम बहादुर बिश्वकर्मा, प्यूठान। प्यूठानमा सलह किराले ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न स्थानमा किसानहरुले लगाएको मकैबाली, तरकारी र धानबालीमा सलहले क्षती पुर्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जानकारी दिएको छ ।
जिल्लाका नौ स्थानीय तहमा सलहले ४३१.५ हेक्टर क्षेत्रफलमा लगाएको मकै, तरकारी, र धानबालीमा क्षती पुर्याएको परियोजनाका निमित्त प्रमुख सुमन खनालले जानकारी दिनुभयो। ‘जिल्लामा सबै भन्दा बढि सलहले मकै बालीमा नोक्सानी पुर्याएको छ,’ खनालले भने ‘मकै पछि धान बालीमा क्षेती पुर्याएको छ।’ उहाका अनुसार सलहले सवैभन्दा बढी नौबहिनिमा ११० हेक्टर र सरुमारानी गाउँपालिकामा सबैभन्दा कम ३८.५ हेक्टर क्षेत्रफल जमिनमा लगाईएको अन्नवालीमा नोक्सानी पुर्याएको छ। त्यस्तै, झिमरुकमा ८० हेक्टर, ऐरावतीमा ७०, मल्लरानीमा ६३ हेक्टर, स्वर्गद्धारी नगरपालिकामा ५५ हेक्टर र प्यूठान नगरपालिकामा १५ हेक्टर क्षेत्रफलमा क्षति पुर्याएको छ ।
गौमुखी र माण्डवी गाउँपालिकामा सलह देखिएता पनि कुनै क्षती नपुर्याएको खनालले जानकारी दिनुभयो । जिल्लाका सवै ६४ वडामा सलह देखिएको थियो । सलह कीराले खेतीबाली नोक्सानी गरेको भन्दै किसानहरुले क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन ।