धनुषा –प्रदेश २ का सबै पालिकाहरुमा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ योजना सुरु भएको छ ।
प्रदेश २ सरकारले यो योजना ल्याएको हो।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार पत्रकार सम्मेलन गरी याे योजना प्रदेश नम्बर २ अन्तर्गतका आठ वटै जिल्लामा औपचारिक रुपमा शुरु भएको घोषणा गरेका हुन ।
महिला सबलीकरण र सशक्तिकरणलाई विशेष प्राथमिकतामा राखेर संघीय सरकारले प्रदान गरेको विशेष अनुदान अन्तर्गत ५० करोड र प्रदेश सरकारको ५ करोड ६० लाख रकममा यो योजना लागू गरेको मुख्यमन्त्री राउतले बताए । फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभएको छोरी शिक्षा बीमा कार्यक्रमलाई अब प्रदेश २ का सबै पालिकाहरुमा लागू गरिएको मुख्यमन्त्री राउतले घोषणा गरे । महिला सशक्तिकरण अन्तर्गत नयाँ जन्मिने छोरीहरुको शिक्षा बीमा गर्न प्रभु बैंकसँग सम्झौत भइसकेको र अब प्रदेशभित्रको कुनै पनि नगरपालिका तथा गाउँपालिकामा जन्मेकी छोरीलाई प्रदेश सरकारले बीमा गर्ने मुख्यमन्त्री राउतको भनाइ छ । यही योजना अन्तर्गत छोरीहरुलाई साइकल वितरण गर्न टेन्डर खुलिसकेको र प्रदेशका करिब एकसय सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालय निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको मुख्यमन्त्री राउतले जानकारी गराए । सबै छोरीलाई शिक्षित बनाउन माघ १ गते देखि प्रदेश २ भित्र जन्मिसकेकी र अब जन्मिने छोरीलाई पारिवारिक नागरिकता तथा गाउँपालिका एवं नगरपालिकाको सिफारिसमा ती छोरीको नाममा १३ हजार ६ सय ४६ रुपैयाँ १५ पैसा प्रभु बैंकमा जम्मा गरिन्छ । र ती छोरी २० वर्ष पुगेपछि ब्याजको रुपमा एकमुस्ट १ लाख २५ हजार पाउने व्यवस्था छ ।
छोरीको बीमा कसरी हुन्छ?
माघ १ गते देखि जन्मेको वच्चालाई पालिकाको सिफारिस र पारिवारीक नागरिकताको आधारमा प्रदेश सरकारले ती वच्चाको नाममा १३ हजार ६ सय ४६ रुपैयाँ १५ पैसा प्रभु बैंकमा जम्मा गर्छ। त्यसैगरि प्रभु वैंकले समेत वच्चाको नाउमा १ हजारको वचत खाता जम्मा गर्ने छ। त्यहि पैसा २० वर्ष पछि ब्याजको रुपमा १ लाख २५ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ।
छोरी शिक्षाको अभियानलाई सार्थकता वनाउनका लागि सुरु गरिएको बीमा कार्यक्रममा दुइवटा शर्त समेत लागु गरिएको छ। जसमा छोरीलाई २० वर्ष पछि विवाह गर्नुपर्ने र छोरीलाई अनिवार्य विद्यालय पठाउनुपर्ने शर्त रहेको छ। यदि छोरीको विवाह २० भन्दा पहिले गरियो भने जम्मा भएको बीमाको रकम पुनः कार्यालयमै फर्किने शर्त लागु गरिएको छ।