गुल्मी — भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको आत्मशान्ति र बेपत्ताहरूको सकुशल उद्धारको कामना गर्दै गुल्मीको सदरमुकाम तम्घासमा बृहत् धार्मिक अनुष्ठान गरिएको छ ।
गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्ति, बेपत्ताको खोजी तथा उद्धारमा सफलता र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासहित तम्घासस्थान मन्दिरमा अनुष्ठान गरिएको हो । तम्घासस्थान मन्दिर व्यवस्थापन समिति, विश्व हिन्दु महासंघ, राधा माधव समितिलगायत धार्मिक तथा सामाजिक संस्थाको सहकार्यमा आयोजित अनुष्ठानमा पण्डित, धार्मिक गुरु तथा श्रद्धालुको सहभागिता छ ।अनुष्ठानमा श्रीमद्भागवत, वेद, श्रीमद्भगवद्गीता, विष्णु सहस्रनाम, शिव सहस्रनाम, गणेश सहस्रनाम र हनुमान चालिसालगायत धार्मिक ग्रन्थको पाठपारायण गरिएको छ । वैदिक विधिअनुसार पूजाआजा तथा अन्य धार्मिक कर्मसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ ।अनुष्ठानमा ४० भन्दा बढी विद्वान् पण्डित तथा धार्मिक गुरु सहभागी छन् । मूल आयोजक समिति संयोजक सुरेशचन्द्र भुसालका अनुसार विपद्मा अकालमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिका साथै देशमा शान्ति, समृद्धि र सुख कायम होस् भन्ने कामनाका लागि अनुष्ठान आयोजना गरिएको हो। ‘पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्, बेपत्ताको सकुशल खोजी तथा उद्धार होस् र आगामी दिनमा यस्ता ठूला प्राकृतिक विपद् नआऊन् भन्ने कामना गरेका छौं,’ उनले भने ।
पण्डित लक्ष्मण रिजालले बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको आत्माको शान्ति र मुक्तिको कामनाका लागि धार्मिक ग्रन्थहरूको पाठपारायण गरिएको बताए ।
अनुष्ठानमा सहभागी श्रद्धालुले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा प्रार्थना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए । साथै बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट आगामी दिनमा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण होस् भन्ने सामूहिक प्रार्थना गरिएको आयोजक समितिका सदस्य ताराप्रसाद भुसालले बताए ।
भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
Advertisement
तपाईको प्रतिक्रिया