बुटवल– प्रदेश ५ का चार जिल्ला आर्थिक सूचाङ्कमा उच्च गरीबीको सूचीमा परेका छन ।
गरीबीको रेखामुनि रहेको जिल्लाको सूचीमा अर्घाखाँचीसहित कपिलवस्तु, प्यूठान र बर्दियालाई समेटिएको छ । हालै प्रदेश सरकारले सार्वजनिक गरेको समग्र आर्थिक सूचाङ्क अनुसार अर्घाखाँचीसहित प्रदेश नम्बर ५ का ४ जिल्ला गरीबीको रेखामुनि परेको उल्लेख गरिएको छ ।
यीनैजिल्लाबाट केन्द्रीय स्तरसम्म सहज पहुँच राख्ने विभिन्न नेताहरु उत्पादन भएका छन् । तर, त्यही प्रभावशाली नेता उत्पादन गर्ने जिल्लाका जनता भने उच्च गरीबीका रेखामा रहेको पाइएको छ ।
यिनै ४ जिल्लाबाट टोपबहादुर रायमाझी, पम्फा भुसाल, पुष्पा भुसाल, मानबहादुर बिक, ढुन्डीराज शास्त्री, बामदेव गौतम, मोहन विक्रम सिंह, लीलामणि पोख्रेल, दुर्गा पौडेल, गोविन्द पोखरेल, चन्द्रप्रकाश खनाल, दीपकुमार उपाध्यायलगायतका व्यक्तित्वहरु विभिन्न पार्टीको तर्फबाट राष्ट्रिय स्तरमा स्थापित नेता बनेका छन् ।
तथ्यांक हेर्दा राजनीति माथि गरीबी तल देखिन्छ । अर्थशास्त्री डा. वाबुराम ज्ञवाली भन्छन्, ‘जुनसुकै जिल्लामा पनि नेता मात्रै उत्पादन गरेर हुँदैन । विकास र गरीबीलाई ध्यान नदिँदा यस्ता समस्या आउने गर्दछ ।’
नेताहरुले उत्पादनमा ध्यान नदिँदा यस्तो अवस्था आएको बताउँदै उनले थपे, ‘नेताले केवल राजनीतिक भाषणमात्रै गर्दा गरीबी घट्न सकेन । अर्कोतिर राज्यले पनि ठूलो अपेक्षित रुपमा गरीबी निवारणको लागि काम गर्न सकेन ।’
प्रदेश नम्बर ५ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अहिले ती जिल्लामा गरीबी निवरणका लागि कार्यक्रम अगाडि बढाएको छ । जसका लागि जिल्लागत रुपमा कार्ययोजना तयार पारिएको जनाइएको छ ।
प्रदेश कृषि मन्त्रालयका उपसचिव विनोद घिमिरले आर्यआजन, पोषण, अशिक्षा, भौतिक पूर्वाधारजस्ता विषयमा मापदण्ड बनाएर बनाएर जिल्लाका समग्र सूचकांक तयार पारिएको जानकारी दिए ।
उनले सामान्य खाद्यान्न भएपनि तराईका जिल्लामा अन्य विषयमा ध्यान दिइएको जानकारी दिँदै अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मान्दा प्रदेशका ४ वटा जिल्ला पछाडि परेका जानकारी दिए । अब तिनै तहका सरकार लागेर गरीबीको मापदण्ड घटाउनुपर्नेमा उनले जोड दिए ।
सार्वजनिक तथ्यांक अनुसार प्रदेश नम्बर ५ मा प्रतिव्यक्ति आम्दानी ९ सय ५० अमेरिकी डलर रहेको छ ।
तथ्याङ्कअनुसार गरीबी रेखामुनि रहेका जनसंख्या २५.९ प्रतिशत रहेका छन् भने बहुसंख्यक गरीबीदर २९.९ प्रतिशत प्रदेश ५ मा रहेको छ । मानव विकास सूचकांक ०.४६ प्रतिशत रहेको प्रदेश ५ मा सापेक्षित आयु ६७.५ प्रतिशत बर्ष रहेको छ । प्रदेश नम्बर ५ मा साक्षरता प्रतिशत कूल ६६.४ रहेको छ ।