माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा कात्तिक ३०
“पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ कपिलवस्तुले महोत्सव संचालन गर्न लागेको महोत्सवलाई सफल पर्न सहयोग पु¥याउने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।
यही मंसिर ६ गतेदेखि १६ गतेसम्म चन्द्रौटामा संचालन हुन गइरहेको पाँचौं चन्द्रौटा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाई छ । महोत्सवलाई थप आकर्षक, भव्य र सभ्य बनाउन विगतका भन्दा फरक किसिमको व्यवस्थापन गरेको आयोजक संस्था व्यापार संघ कपिलवस्तुका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोखरेलले वताए ।
महोत्सवमा जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरुको फोटो तथा भिडियो प्रदर्शनी, ऐतिहासिक शिवगढी मन्दिर तथा मूल गेटमा मायादेवीको मन्दिर निर्माण गरिने महोत्सव संयोजक पोखरेलले जानकारी दिए । महोत्सवमा बाल उद्यान, मौत कुवा, रोटे पिङ, जादुगर, कुस्ती प्रतियोगिताको समेत व्यवस्था मिलाइएको छ । साथै स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरुको प्रदर्शनीको स्टलहरु रहने स्टल संयोजक नवराज न्यौपानेले जानकारी दिनुभयो । महोत्सव अवधिभर दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, काठमाडौं हरिडान्स ग्रुपको प्रस्तुति, पाँचौ चन्द्रौटा डान्स आइडलको समेत प्रस्तुतिले महोत्सव तताउने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले जनाउनुभयो।
महोत्सव स्थलमा आयोजित छलफलका क्रममा सरोकारवाला व्यक्तित्वहरुले चन्द्रौटा महोत्सव चन्द्रौटा क्षेत्रको पहिचान भएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न आ आफ्नो ठाउँबाट सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरेका हुन् । कार्यक्रममा आयोजक संस्था व्यापार संघ कपिलवस्तुका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोखरेलले महोत्सवको तयारी र आकर्षणबारे जानकारी गराउँदै सरोकारवालाहरुसँग सकारात्मक सुझावको अपेक्षा सहित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलसहित चन्द्रौटा क्षेत्रका वरिष्ठ व्यक्तित्वहरु, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, राजनीतिज्ञ, विभिन्न संघसंस्था, क्लबका प्रमुख तथा प्रतिनिधि, महोत्सव सम्बन्धी विभिन्न समिति, उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।