दाङ(गढवा)। गढवा गाउँपालिकामा पहिलोपटक खसीबोकाको सामूहिक बजारीकरण सुरु भएको छ। भिटा परियोजना अन्तर्गत गठन भएको श्री गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँगाउँमा पुगेर खसीबोका खरिद गर्न थालेको हो।
गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत किसानका घरमै पुगेर ९२ वटा खसीबोका खरिद गरिएको सहकारी संस्थाकी अध्यक्ष शोभा रावत क्षेत्रीले जानकारी दिनुभयो। कुल २ हजार ७ सय ६० किलो खसीबोका १४ लाख ६२ हजार ८ रुपैयाँ बराबरमा खरिद गरिएको उहाँको भनाइ छ।
“एउटा-दुईवटा खसीबोका पाल्ने किसानलाई बेच्ने चिन्ता हुन्थ्यो। अब भने सहकारीमार्फत सामूहिक रूपमा बजार व्यवस्थापन हुँदा सजिलो भएको छ,” अध्यक्ष रावतले बताउनुभयो।
भिटा परियोजना संयोजक बसन्त कुमार शर्माका अनुसार सहकारीले तौलअनुसार मूल्य निर्धारण गरेर खरिद गरेको हो। २० किलोभन्दा कम तौलका खसीबोका प्रतिकिलो ४७०, २० देखि ३० किलोसम्मका ५३०, ३० देखि ४० किलोसम्मका ५४० र ४० किलोभन्दा माथिका ५५० रुपैयाँमा खरिद गरिएको छ।
गाउँपालिकाले नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरे पनि जेन–जी आन्दोलनलाई कारण देखाउँदै कम्पनीले खरिद नगरेपछि सहकारीमार्फत बाह्य व्यापारीसँग समन्वय गरेर खसीबोका काठमाडौं पठाइएको गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो।
“पहिले व्यापारीले आफैं मूल्य तोक्ने र किसानलाई ठग्ने अवस्था थियो। अब भने किसानले ढुक्कसँग घरमै खसीबोका बेच्न पाएका छन्,” गढवा–२ की कृषक कमला चौधरीले बताउनुभयो।
महिला उद्यमी र किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित भइसकेका गढवामा अहिले उत्पादनसँगै बजार व्यवस्थापन सहज बनाउन स्थानीय सरकार र सहकारीबीच सहकार्य बढाइएको छ।
गत वर्ष मदाने चिस्यान केन्द्र, रुपन्देहीमा खसीबोका पठाइएकोमा यसपटक काठमाडौं पठाइएको छ। सहकारीले सबै वडामा सामूहिक बजारीकरण विस्तार गर्ने योजना बनाएको जनाएको छ।
गढवामा खसीबोकाको सामूहिक बजारीकरण, किसानलाई सहजता
गढवामा खसीबोकाको सामूहिक बजारीकरण, किसानलाई सहजता

Advertisement
तपाईको प्रतिक्रिया