भैरहवा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बनेको संघर्ष समितिलाई सहजीकरण समितिमा रूपान्तरण गर्न व्यवसायीलाई आग्रह गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा उनले संघर्षको बाटोबाट वातावरण बिथोलिने भएकाले सहजीकरणमार्फत अघि बढ्नुपर्ने बताए । ‘कसैले नचलेको एअरपोर्ट चलाउन सक्छ भने किन नदिने ? यो एअरपोर्ट चल्छ, गुल्जार भएर चल्छ,’ मन्त्री पाण्डेले भने, ‘सुरुमा संसारका कुनै पनि एअरपोर्ट गुल्जार हुँदैनन् ।’
उनले निजी क्षेत्रलाई नियमन गर्ने तर निषेध नगर्ने नीतिमा सरकार रहेको उल्लेख गर्दै लगानीलाई सहज बनाउन राज्य तयार रहेको धारणा राखे । मन्त्री पाण्डेले विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङलाई प्रभावकारी बनाउन नेपाल एअरलायन्ससँग कुरा गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सिद्धार्थनगर नगर प्रमुख इश्तियाक अहमद खाँले विमानस्थल सञ्चालनका लागि संघर्ष समिति गठन गर्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले लुम्बिनीको विकास मुलुककै विकाससँग जोडिएको भएकाले विमानस्थल सञ्चालन हुनैपर्नेमा जोड दिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले विमानस्थल चल्छ कि चल्दैन भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए । गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भिसा, श्रम स्वीकृति, म्यानपावर र मान्यता प्राप्त स्वास्थ्य संस्थाको अभावले नियमित अन्तर्राष्ट्रिय उडानमा अवरोध भएको जानकारी दिए ।
निजी क्षेत्रका प्रतिनिधिहरुले सरकारले नेतृत्व गर्न नसके जिम्मेवारी निजी क्षेत्रलाई दिनुपर्ने धारणा राखे । संघका पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठले ‘संघर्षको विकल्प छैन’ भने, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले कर्मचारीतन्त्रको इच्छाशक्ति अभावमै विमानस्थल अल्झिएको प्रश्न गरे ।
पर्यटन व्यवसायीहरुले विमानस्थल सञ्चालन नभए निजी क्षेत्रको अर्बौं लगानी डुब्ने चेतावनी दिएका छन् । उनीहरुले सरकारले आश्वासनभन्दा ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
व्यवसायीलाई पर्यटनमन्त्रीको आग्रह–संघर्ष होइन, सहजीकरण समिति बनाउनुस्
व्यवसायीलाई पर्यटनमन्त्रीको आग्रह–संघर्ष होइन, सहजीकरण समिति बनाउनुस्

Advertisement
तपाईको प्रतिक्रिया