काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने अभियानलाई सरकारले तीव्रता दिएको छ । बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधार मर्मत तथा वैकल्पिक व्यवस्था गरेर प्रभावित क्षेत्रमा विद्युत् सेवा जोड्ने काम भइरहेको छ ।
यसैक्रममा मंगलबार नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ । बाढीका कारण प्रभावित तारकेश्वर नगरपालिका–४ मा समेत विद्युत् सेवा पुनः जोडिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि मन्त्रालयले भोलिपल्टैदेखि आवश्यक स्रोतसाधन र जनशक्ति परिचालन गरी पुनःस्थापनाको काम अघि बढाएको थियो ।
विद्युत् सेवा तत्काल पुग्न नसकेका स्थानमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सोलार प्रणाली वितरणको कामसमेत अघि बढाइएको छ । सामुदायिक आश्रयस्थलका लागि २ किलोवाट क्षमताका सोलार प्रणाली तथा घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली उपलब्ध गराइने मन्त्री श्रेष्ठले बताए ।
विद्युत् पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी बाढी प्रभावित क्षेत्रमा निरन्तर खटिरहेका छन् ।
विदुरका दुई वडामा बल्यो बत्ती
विदुरका दुई वडामा बल्यो बत्ती
Advertisement
तपाईको प्रतिक्रिया